एजेन्सी । चीनको वुहानबाट सन् २०१९ डिसेम्बरबाट सुरु भएको कोरोना भाइरस विरुद्धको खोप निर्माण भई बिक्रीको घोषणा पनि चीनबाटै भएको छ ।
आफ्नो सबै शक्ति लगाएर कोरोना भाइरसविरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रतिस्पर्धामा रहेको चीनको औषधी कम्पनी सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने घोषण गर्दै त्यसको मूल्य १४० डलर तोकेको छ ।
खोपको मूल्य नेपाली रुपैयाँमा करिब १५ हजार पर्नेछ । विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छमध्ये आधा खोप चिनियाँ छन्। खोपको विकास नहुँदै चीनले कोरोना भाइरसलाई आफ्नो मुलुकमा भने सफलतापूर्वक नियन्त्रण गरेको छ ।
चीनका सबै खोप निर्माताहरू हजारौँ व्यक्तिमाथि गरिने तेस्रो चरणको परीक्षणका लागि कोरोना भाइरस सङ्क्रमण उच्च भएका स्थान खोजिरहेको हङ्कङ यूनिभर्सिटी पब्लिक स्कूल अफ हेल्थका प्राध्यापक बेन काउलिङले बताउनुभयो। तेस्रो चरणमा परीक्षण भइरहेका खोपहरू प्रभावकारी हुने राम्रो सम्भावना रहेको उहाँको भनाइ छ ।
चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले गत साता गएको महिनादेखि चीनका प्रमुख सरकारी कर्मचारीहरूमाथि खोपको गोप्य परीक्षण गरिएको बताएका छन्। नेशनल हेल्थ कमिशनका जेङ जोङ्वेईले सरकारी टीभीमा आफूहरूले आपत्कालीन अधिकार प्रयोग गरेर सीमावर्ती क्षेत्रहरूमा विकासक्रममै रहेका खोप दिएको बताउनुभयो ।
सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड १९ को खोप दिन सकिने चीनको विश्वास छ । चीनले अहिले यूएई, पेरु र आर्जेन्टिनामा हजारौँ व्यक्तिमा आधिकारिक रूपमा खोपको परीक्षण गरिरहेको छ।
चिकित्सा विज्ञहरुले खोपको सहज उपलब्धता नहुँदासम्म कोरोना भाइरसको संक्रमण पूर्ण नियन्त्रणमा आउन नसक्ने चेतावनी दिइरहेको बेला विश्वले नै कोरोना विरुद्धको खोपलाई प्रतिक्षा गरिरहेको छ । यसअघि रुसले आफूले विश्वकै पहिलो कोरोनाविरुद्धको खोप बनाएको दाबी गरेको भएपनि त्यसलाई विश्वसनीय मानिएको छैन ।
चीन भने विश्वका अन्य मुलुकभन्दा आफूले अगाडि खोप विकास गर्ने प्रतिस्पर्धाको प्रयासमा छ । चिनियाँ सञ्चारमाध्यमले गत साता विकासको क्रममा रहेको एउटा खोपको तस्बिर सार्वजनिक गरेका थिए । तस्बिरमा प्रयोगशालामा एउटी महिलाले खुसी हुँदै एउटा सानो बाकस समातेकी छन् ।
कोरोना नियन्त्रणका लागि चीन असफल भएको भन्दै संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका मुलुकहरुले आलोचना गरिरहेका बेला चीनले खोपमा विश्वव्यापी पहुँच उपलब्ध गराउने रणनीति लिएको जनाइएको छ । चीनले आफूले उत्पादन गरेको खोप ग्लोबल पब्लिक गुड्स हुने बताइरहेको छ ।
चिनियाँ कूटनीतिज्ञहरूले पनि नेपाल, अफगानिस्तान, पाकिस्तान र फिलिपिन्सलाई चीनले विकास गरेको खोपको पहिलो प्राथमिकतामा राख्ने आश्वासन दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । बीबीसीबाट