विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा बुधबार मृत्यु भएका मोरङ कारागारका कैदीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

लागुऔषध मुद्दामा जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर–४ घर भएका २६ वर्षीय निराजन यादवको बुधबार मृत्यु भएपछि कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएका उनको मृत्यु भएको थियो । मृतक कैदीको कोरोना रिपोर्ट राति ११ बजेतिर नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.चुमनलाल दासले जानकारी दिनुभयो ।

मृतक कैदी लामो समयदेखि क्षयरोगबाट पीडित रहेको र एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि पठाइएको कारागारका जेलर सुवास लामिछानेले जानकारी दिनुभयो । जिल्ला अदालत मोरङले यादवलाई लागुऔषध मुद्दामा २०७६ साल फागुन ११ गते एक वर्ष नौ महिना १९ दिन कैद सजाय र ७८ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

मृतकका परिवारका सदस्यले भने उनको मृत्यु कुटपिटका कारण भएको आरोप लगाएका छन् । कारागारभित्र चरम यातना दिने गरिएको र त्यही कारण मृत्युु भएको भनेर परिवारले दाबी गरेपछि शवको पोस्टमार्टम गरिने भएको छ ।