यी दश मुलुक, जहाँ कोरोना नभएपनि प्रभावित छन्

विराटनगर । कोरोना भाइरसको असर विश्वभर महामारीको रुपमा फैलिएको बेला केही मुलुकमा भने कोरोनाको चिन्ता छैन । विश्वका दश मुलुकमा अहिलेसम्म कुनै कोरोना संक्रमित फेला परेका छैनन् । कोरोना भाइरसका एकजना पनि संक्रमित फेला नपरेको १० मुलुकमध्येको एक पलाउ हो ।

प्रशान्त महासागरको बीचमा रहेको सानो यो मुलुकको जनसंख्या भन्दा धेरै पर्यटक पुग्ने गरेका थिए । कोरोनाको कारण पर्यटन ठप्प भएपछि अहिलेसम्म यो मुलुकमा कोरोना संक्रमित फेला परेका छैनन् । कुनैपनि संक्रमित फेला नपर्दा पनि पलाउ कोरोना भाइरसको चपेटामा भने परेको छ ।

आकाशे नीलो रङ्गको समुद्रले नै पर्यटकहरूलाई लोभ्याउने यो मुलुकको जीडीपीको ४० प्रतिशत हिस्सा पर्यटनले धानेको थियो । सरकारले पलाउका नागरिकहरूलाई आर्थिक सहायताको योजना अघि सारिरहेको छ । सबैभन्दा ठूलो कुरा कोरोना भाइरस महामारीलाई सफलापूर्वक मुलुकमा आउन दिएको छैन ।

पलाउका राष्ट्रपति हालै मात्र ‘अन्तराष्ट्रिय उडान सेप्टेम्बरदेखि सुरु हुन सक्ने’ बताएका छन् । योे योजनाबाट पर्यटकहरूलाई पलाउ आउने अनुमति मिल्नेछ ।

पलाउको पूर्वमा करिब ४ हजार किलोमिटरको दुरीमा प्रशान्त महासागरको बीचमा मार्सल द्वीप छ । यो द्वीप पनि कोरोनामुक्त छ । पलाउजस्तै यो प्रायद्वीपमा पनि कोरोना भाइरसका कोरोना संक्रमित फेला नपरेपनि महामारीको असर भने परेको छ ।

द्वीपको पनि मुख्य आयश्रोत पर्यटन थियो । एसिया र अमेरिकाबाट पर्यटकहरू जाने गरेकोमा अहिले धेरै समस्या परेको छ । माछा उद्योग पनि बन्द भएको छ । देशलाई कोरोना भाइरसबाट बचाउन संक्रमित मुलुकको पानीजहाजलार्ई बन्दरगाहमा प्रवेश निषेध गरिएको छ ।

डाक्टर लेन टारिवोन्डा भानुआटुमा सार्वजनिक स्वास्थ्य विभागका निर्देशक हुन् । उनी तीन लाख आवादी भएको राजधानी क्षेत्र पोर्ट बिलामा काम गर्छन् । उनी आफैं अम्बेका बासिन्दा हुन् । अम्बेको जनसंख्या करिब १० हजार छ । टारिवोन्डाका अनुसार अहिले भानुआटुको करिब ८० प्रतिशत मानिस सहर र औपचारिक अर्थ व्यवस्थाभन्दा बाहिर छन् ।

यो मुलुक अहिले आफूलाई आवश्यक पर्ने खाद्यान्न उत्पादनको लागि सक्षम छ । यद्यपि मुलुकलाई नोक्सानीबाट बचाउन भने निकै कठिन छ । एसियाली विकास बैङ्कका अनुसार यस वर्ष भानुआटुको अर्थतन्त्रमा करिब १० प्रतिशतको गिरावट हुनेछ ।

पलाउ, भानुआटु र मार्सलद्विप जस्तै माइक्रोनेसिया, नाउरु, किरिबाती, सोलोमन द्वीप समूह, तुभालु, समोआ र टोङ्गामा पनि कोरोना संक्रमण देखिएको छैन ।बीबीसीबाट

मङ्गलबार, ०९ भदौ, २०७७, दिउँसोको १२:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर