दमक । झापाको दमकमा बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकामध्ये १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको दमक नगरपालिकाले जनाएको छ ।
संक्रमितहरुमा ३ जना सशस्त्र प्रहरी छन् भने २ जना नेपाल टेलिकमका पुरुष कर्मचारी हुन् । त्यसैगरी दमक ५ को होम क्वारेन्टाईनमा बसेका ३१ वर्षका पुरुष तथा अन्य ७ जना बिभिन्न देशबाट आएर दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा बसेकाहरु संक्रमित भएका हुन् ।
बिदेशबाट फर्केका उनीहरू २१ देखि ४४ वर्षसम्मका पुरुष भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । थपिएकासँगै दमकमा संक्रमितको संख्या ४४ पुगेको छ । उनीहरुमध्ये १४ जना उपचारपछि घर फर्किएका छन् ।
समुदायमा कोरोना संक्रमण फैलिएको निश्कर्षपछि दमक नगरपालिकाले घोषणा गरेको लकडाउन कडा बनाएको छ ।

