विराटनगरमा दुई दिनपछि स्वाब संकलन सुरु

विराटनगर । स्वाब संकलन गरिने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि विराटनगरमा आइतबारदेखि बन्द भएको स्वाब संकलन मंगलबारबाट सुरु भएको छ ।

स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका चिकित्सकमा संक्रमण देखिएपछि आइतबारदेखि विराटनगरभित्र स्बाव संकलन हुन सकेको थिएन ।

मेडिकल अधिकृत डा. प्रज्वल खतिवडा नेतृत्वको टिमले मंगलबारदेखि पुनः स्वाब संकलन सुरु गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले बनाएको आइसोलेनमा बसेकाहरुको स्वाब पहिलो चरणमा संकलन गर्ने काम भइरहेको छ । १० दिनभन्दा अगाडीदेखि आइसोलेशनमा बसेकाहरुको स्वाब संकलन सुरु गरिएको डा.खतिवडाले जानकारी दिनुभयो ।

‘आइसोलेनमा बसेकाहरुको लिएपछि कन्टयाक टे«सिङको आधारमा संक्रमितमा सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गर्ने तयारी छ । अहिले महानगरपालिकाभित्र बैजनाथपुरको आइसोलेसनमा २० जना, मारवडी सेवा सदनमा ४० र कालिमन्दिरको कालि सेवा सदनमा १३ जना संक्रमित राखिएको छ । अन्य संक्रमित भने होम आइसोलेशनमा छन् ।

विराटनगर महानगरपालिकाभित्र स्वाब संकलन गरिने दुई वटा टिम बनाएको छ । महानगरपालिकाले करारमा नियुक्त गरेको मेडिकल अधिकृतको नेतृत्वमा दुई टिम बनाएको हो ।

मेडिकल अधिकृत डा.प्रज्वल खतिवडा र डा.मुकेश पौडेलको नेतृत्वमा रहने ६÷६ जनाको टिम परिचालन हुने भएको विराटनगर महानगरपालिकाले जनाएको छ । ‘एउटा टिमले २ साता स्वाब संकलन गरेपछि अर्को टिमले त्यसपछि काम गर्नेछ,’ डा. खतिवडाले भन्नुभयो, ‘दुई टिम भएपछि काम गर्न सहज हुनेछ ।’

अब कुनै पनि स्वास्थ्यकर्मीलाई संक्रमण देखिहाले भने पनि स्वाब संकलनको काम नरोकिने महानगरपालिकाले जनाएको छ । दुई दिन स्वाब संकलन नहुँदा कोरोना संक्रमितको सम्पर्कमा रहेका सयौंले परीक्षण गर्न पाएका छैनन् । मंगलबार मात्र विराटनगरमा ९६ जनामा संक्रमण पुष्टि भएकोले उनीहरुको सम्पर्कमा रहेका धेरैको स्वाब परीक्षण गर्नुपर्ने अवस्था छ ।

महानगरपालिबाट खटिएको स्वास्थ्यकर्मीको टिमले दैनिक १ सय ८० देखि २ सय जनासम्मको स्वाब संकलन गर्ने गरेको छ ।

मङ्गलबार, ०२ भदौ, २०७७, दिउँसोको ०३:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर