काठमाडौं । युट्युबमा नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने गीत सार्वजनिक गर्ने समूहका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ

मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट भदौ १ गते सार्वजनिक गरिएको गीतमा मुलुकको राष्ट्रिय झण्डा जलाएको दृष्य राखिएकोले महानगरीय प्रहरी अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको हो ।

भिडियो निर्माणमा संलग्न अन्यको पनि खोजी गर्न प्रहरी सक्रिय भएको छ । नेपालको राष्ट्रियता एवं जातीय सद्भावविरुद्ध घृणा फैलाउने आपत्तिजनक शब्दहरूले भरिएको गीत तयार गर्ने र भिडियो बनाउनेलाई कानुनी दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

गीत सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले गीतलाई प्रतिबन्धित गरी त्यसमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराएका छन् । प्रहरीले भिडियो बनाउने समूहका क्यामराम्यान इराक लिम्बूलाई पक्राउ गरिसकेको छ भने अन्यको खोजी भइरहेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो ।

सो भिडियो शेयर नगर्न महानगरीय प्रहरी अपराध महाशाखाले आग्रह गरेको छ । यस्तो भिडियो शेयर गरेर विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगर्न तथा युट्युब च्यानल तथा फेसबुकलगायत सामाजिक सञ्जालमा पोस्ट नगर्न एसएसपी थापाले आग्रह गर्नुभयो ।

भिडियोमा युट्युबमा ‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट भदौ १ गते सोमबार भिडियो सार्वजनिक गरिएको थियो । भिडिओको ४० औं सेकेन्डमा गायक ‘गेल्जङ दोर्जे तामाङले झण्डा जलाएको देखिन्छ।  भिडियोमा अश्लिल शब्दसँगै प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड, पृथ्वीनारायण शाह, पूर्वराजा ज्ञानेन्द्र शाहलगायतका व्यक्तित्वहरुको तस्बिर जलाइएको छ ।

राष्ट्रिय झण्डाको अपमान गर्नेलाई दण्डनीय अपराधको रूपमा मुलुखी संहिताले व्याख्या गरेको छ । मुलुकी अपराध संहिताको दफा १५१ मा यससम्बन्धी व्यवस्था छ । मुलुकी अपराध संहिताको दफा १५१ मा ‘राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने’ उल्लेख छ ।