काठमाडौं । नेपाली काँग्रेस पश्चिम नवलपरासी जिल्लाका उपसभापति सुवासचन्द्र गिरीसहित चार जनाको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको छ। मंगलवार बिहान पाटन अस्पतालमा उपसभापति गिरीको निधन भएको काँग्रेसले जनाएको छ ।
यसअघि ३८ वर्षीय गिरीलाई कोरोना देखिएपछि बुटवल कोरोना अस्पताल भर्ना गरिएको थियो। बुटवलमा गम्भीर हुँदै गएपछि उनलाई पाटन ल्याइएको थियो । उनको केही समय अगाडि पत्थरीको शल्यक्रिया गरिएको थियो ।
विजय गच्छदारको लोकतान्त्रिक फोरमबाट समायोजनपछि गिरीलाई जिल्लाको उपसभापतिको जिम्मेवारी दिइएको थियो। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि उनको निधनको पुष्टि गर्नुभएको छ ।
मंगलबार नै काभ्रेको धुलिखेलमा काठमाडौंका ९८ वर्षीय वृद्ध, पोखरामा तनहुँकी ५० वर्षीया महिला र नेपालगञ्जमा ६२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १११ पुगेको छ।
धुलिखेल–७ घर भएका वृद्धमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका उनी पिसाब बन्द हुने समस्या देखिएपछि धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए ।
उता तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो ।
बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज ५ का ६२ वर्षीय पुरुषलाई साउन ३२ गते कोरोना पुष्टि भएको थियो । सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि उनको मृत्यु भएको हो ।

