इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का गुणराज यादवको हत्या प्रेम सम्बन्धका कारण भएको खुलेको छ ।
गत शनिबार धारिलो हतियार प्रयोग गरी २१ वर्षीय गुणराजको हत्या गरेर हातखुट्टा बाँधी बोरामा फालिएको अवस्थामा सुनसरी खोलामा शव भेटिएको थियो ।
सुनसरी प्रहरीले गुणराज हत्या आरोपमा एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएकोमा प्रेम सम्बन्धका कारण हत्या भएको खुलेको हो । एक युवतीलाई दुईजना युवाले मन पराएपछि सोही विषयमा विवाद हुँदा उनको हत्या भएको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार गुणराजको हत्या गर्नेहरूको पहिचान भइसकेको छ । हत्याको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले अहिलेसम्मको अनुसन्धानमा प्रेम सम्बन्धकै कारण हत्या भएको देखिएको बताउनुभयो ।
गुणराजको हत्यापछि स्थानीय भने त्रसित छन् । आइतबार घटनास्थल पुगेका नेपाली काङ्ग्रेस सुनसरीका सभापति तथा प्रदेश नम्बर १ प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रदेशमा शान्तिसुरक्षा कायम हुन नसकेको बताउनुभएको थियो ।
गुणराज हत्या सम्बन्धमा कुनै पक्षको दबावमा नआई सत्य–तथ्य बाहिर ल्याई यथाशीघ्र दोषीलाई कानूनको कठघरामा ल्याउन नेपाली काङ्ग्रेसले माग गरेको छ ।

