विराटनगर भन्सारका चार कर्मचारीमा कोरोना पुष्टि

विराटनगर । विराटनगर भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भन्सारका २० जना कर्मचारीको स्वाब संकलन गरि परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये नापजाँच र कम्प्युटर शाखामा कार्यरत कर्मचारी रहेको तथा उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको भन्सार कार्यालयले जनाएको छ । ‘हाईरिक्स’ मा बसेर काम गरिरहेका कर्मचारीमा कोरोना संक्रमण पाइएपछि विराटनगर भन्सारमा थप उच्च सर्तकता अपनाएको छ ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले कोरोना संक्रमण पृष्टि भएपछि भन्सार जाँचपासमा कार्यालयसँगै आफूहरुले पनि सर्तकता अपनाएको बताउनुभयो । आइतबारदेखि भन्सारमा भिड नियन्त्रण गरिएको छ । सुरक्षा सावाधानी अपनाएर मात्र भित्र प्रवेश गराउने गरिएको छ ।

एजेन्ट र उनीहरुका प्रतिनिधिहरुले पनि सकभर घरबाटै अनलाइनबाट काम गर्ने र अति आवश्यक परेमात्र भन्सारमा कागजात बुझाउन जाने गरेका छन् । ‘हाईरिक्स ’ मा बसेर काम गरिहेका कर्मचारीहरुमा कोरोना संक्रमण पृष्टि भएपछि कार्यरत कर्मचारी, एजेन्ट, सुरक्षाकर्मी र लोडरहरु चिन्तित बनेका छन् ।

 

सोमबार, ०१ भदौ, २०७७, दिउँसोको ०२:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर