ओली र मोदीबीच फोनवार्तामा के कुरा भयो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोनमा कुराकानी भएको छ ।

ओलीले मोदीलाई फोन गरी भारतको स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिबालयले जनाएको छ ।

नेपाल र भारतबीच लिम्पियाधुरा, कालापानीको विषयमा विवाद भएयता प्रधानमन्त्रीस्तरमा फोन सम्पर्क पनि भएको थिएन । नेपालले लिम्पाधुरासम्मको क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि पनि मोदीले कुराकानी गर्न नचाहेको प्रधानमन्त्री ओलीले संसदमा जानकारी दिनुभएको थियो ।

शनिबारको कुराकानीमा ओली र मोदीबीच सीमा विवादको विषयमा कुनै छलफल नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। ११ मिनेटको कुराकानीमा प्रधानमन्त्री ओलीले मोदीलाई भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको अस्थायी सदस्या चयन भएकोमा बधाइ दिएको तथा कोरोना महामारीबारेमा पनि चर्चा भएको भारतीय विदेश मन्त्रालयको भनाई छ ।

परराष्ट्र मन्त्रालयका अनुसार फोनवार्ताका क्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिनुका साथै निरन्तर प्रगतिको शुभकामना दिनुभएको थियो । ओलीले मोदीको छिमेक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएको मन्त्रालयले जनाएको छ ।

ओली र मोदीच कोभिड १९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारी भएको छ । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरे ।

दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएकोसमेत परराष्ट्र मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

शनिबार, ३१ साउन, २०७७, दिउँसोको ०३:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर