विराटनगर । प्रदेश नं. १ मा आईशोलेसन बेड अभावका कारण १ सय बढी कोरोना संक्रमितहरु होम आईशोलेसनमा बस्न बाध्य छन् ।
यस्तो अवस्थामा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले भने प्रदेश सरकारले जनताको घर–घरमा पुगेर सेवा प्रवाह गरिरहेको बताएका छन् । बिहीबार झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रामीण पुर्वाधार सडक परियोजना अन्तर्गत निर्माण भएको सडक, बेलटारस्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दुग्ध संकलन केन्द्र (चिलिङ सेन्टर) र जलेश्वरधाम जाने बाटोमा रहेको कृष्ण–अर्जुन रथको प्रतिमा उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन ।
मुख्यमन्त्री राईको यो भनाई अहिले सामाजिक सञ्जालमा एकाएक भाईरल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईको उक्त भनाईप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता ललित जङ्ग शाहीले लेखेका छन, ‘सरकारले जनताको घरघरबाट कर उठाएर लाखौं करोडौं कुम्ल्याएको छ, यस्तो हावा कुरा नगरौं मुख्यमन्त्री ज्यु ।’
गौतम शालिकले फेसबुकमा शेयर गरिएको उक्त समाचारप्रति प्रतिक्रिया दिँदै लेखेका छन, ‘के कोरोना सप्लाई गरेको छ घरघरमा गएर ? अरु काम त खोई केही देख्दैनौं त हामीहरु, हुन त मोतियाबिन्दू लागेको परियो नि हामीहरु ।’
यस्तै सरोज खत्रीले लेखेका छन, ‘नेता, मन्त्री, ठेकेदार र एजेन्टका घर–घरमा त होला नि, जनताको घरमा त अवश्य पनि होईन ।’
यी सबै प्रतिनिधिमुलक प्रतिक्रियाहरु मात्र हुन । सामाजिक सञ्जालमा आम नागरिकले यस्ता थुप्रै प्रतिक्रियाहरु दिएका छन, जसले सरकारको वर्तमान कार्यशैलीप्रति आम नागरिक असन्तुष्ट रहेको प्रष्ट पारेको छ । कोरोना महामारीका बेला प्रदेश नं. १ मा एकसय बढी कोरोना संक्रमितहरु आईशोलेसन बेडको अभावमा घरमै छट्पटिएर बस्न विवश छन् । कोरोना बिशेष अस्पतालहरुमा संक्रमितको उपचारका लागी आवश्यक पर्ने आधारभूत स्वास्थ्य उपचारका उपकरण समेत नहुँदा बिरामीहरुले अकालमै ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा मुख्यमन्त्री राईको यो भनाई कत्तिको सान्दर्भिक छ, यो आफैमा आत्मसमीक्षा गर्नुपर्ने बिषय हो ।
प्रदेश नं. १ को राजधानी विराटनगरमै पनि कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा ३० वटा अक्सिजन सिलिण्डर भएपनि त्यसलाई सञ्चालन गर्ने पाइपलाईन जोडिएको छैन । एउटा सिलिण्डर खाली भएपछि अर्को जडान गर्न झण्डै १ घण्टा समय लाग्छ । जुन बिरामीको स्वास्थ्यका लागि सामान्य विषय होइन । अस्पतालमा ‘हाई ब्लो’ अक्सिजनको आवश्यकता छ, तर सरकारले अहिलेसम्म त्यसको प्रबन्ध गरिदिएको छैन । जसकारण संक्रमितले सही उपचार नपाउँदा प्रदेश नं. १ राजधानी विराटनगरमा मात्र कोरोनाका कारण ६ जनाले ज्यान गुमाईसकेका छन् ।
तर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भन्छन, ‘सरकार जनताको घरघरमै पुगेर सेवा दिईरहेको छ ।’
औपचारिक जमघट : न मास्क, न पञ्जा
यसका साथै प्रदेश सरकारले स्वयंम कोरोना भाईरसको बढदो जोखिम र फैलिँदो संक्रमणको रोकथाम तथा न्युनीकरणका लागी सार्वजनिक भेला, कार्यक्रम, सेमिनार तथा जमघटमा प्रतिबन्ध लगाएको छ । तर मुख्यमन्त्री राई बिहीबार स्वयंम झापाको अर्जुनधारा नगरपालिमा आयोजित ३ वटा कार्यक्रमको प्रमुख अतिथि बन्न पुगे । कार्यक्रममा भौतिक दुरी र आवश्यक सुरक्षा सर्तकता कायम भएको थिएन । आम सर्वसाधारणको भीड पनि उत्तिकै थियो । मुख्यमन्त्री राई स्वयंमले पनि मास्क र पञ्जा लगाएका थिएनन् । त्यही कार्यक्रमहरुमा भाषण गर्दै मुख्यमन्त्री राईले सरकार जनताको घरघरमा पुगेर सेवा प्रवाह गरेको दाबी गरेका हुन ।
कोरोना संक्रमणको नियन्त्रणका लागी आफै नियम बनाउने र आफै तोडने प्रवृत्तिले सरकारको चरित्र वर्णन गरेको सरोकारवालाहरुले बताएका छन् ।
यो पनि पढनुहोस : विराटनगरको कोभिड अस्पताल : न अक्सिजन चल्छ, न त भेन्टिलेटर