विराटनगरको कोभिड अस्पताल : न अक्सिजन चल्छ, न त भेन्टिलेटर

व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कोअर्डिनेटर डा. डेन आचार्यले अस्पताल छाडे

विराटनगर । प्रदेश सरकारले कोरोना संक्रमितको उपचार गर्न विराटनगरमा निर्माण गरेको कोसी कोभिड–१९ अस्पतालमा विरामीको उपचार गर्न आवश्यक न्युनतम् पूर्वाधार पनि नभएको पाइएको छ । एउटा अस्पतालका लागि आवश्यक पर्ने आधारभूत स्वास्थ्य उपकरण नहुँदा बिरामीहरुको उपचारमा समस्या हुने गरेको चिकित्सकहरुले बताएका छन् ।

प्रदेश सरकारले नेपालमा कोरोना भाइरस देखिए लगतै चैत्र ९ गते निर्णय गरेर १० दिनमा ५० शैय्याको अस्पताल बनाएको पत्रकार सम्मेलन गरेरै जानकारी दिएको थियो । कोभिड १९ अस्पताल चैत्र २१ गते मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो । अस्पतालमा वैशाख ५ गतेबाट संक्रमितलाई राख्न थालिएको थियो ।

उद्घाटन भएको समयमा ७० शैय्याको अस्पताल १० वटा भेन्टिलेटरसहितको रहेको जानकारी प्रदेश सरकारले दिएको थियो । अस्पताल निर्माणलाई प्रदेश सरकारले कोरोना विरुद्धको लडाईको उत्कृष्ठ कामको रुपमा अहिले पनि प्रचार गरिरहेको छ । तर, अस्पताल सञ्चालनमा आएको ५ महिना पुरा भइसक्दा पनि अस्पतालमा न्यूनतम आवश्यक वस्तुको अभाव देखिएपछि चिकित्सकहरु नै निराश हुन थालेका छन् ।

जब कोअर्डिनेटर डा.आचार्यले काम छाडे

बुधबार कोसी कोभिड अस्पतालका कोअर्डिनेटर डा. डेन आचार्यले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेर अस्पताल बिरामीको उपचारका लागि बनेको नबनेको हो कि भन्ने गुनासोयुक्त सन्देश प्रवाह गर्नुभयो । ‘हामीले बाटो बनायौं तर सोच्यौं हामी हिड्ने छैनौं, अस्पताल बनायौं तर सोच्यौं हामी उपचार गराउने होइनौं ,’ डा. डेन आचार्य लेख्नुहुन्छ, ‘र त आज म मेरो अस्पतालमा बीना अक्सिजन लडिरहेछु ।’

कोभिड अस्पताल स्थापना कालदेखि बढो मिहेनत र जिम्मेवारीपूर्वक काम गरिरहेको एउटा चिकित्सकको यो भनाईले सहजै बुझ्न सकिन्छ कि अस्पताल वास्तवमा अस्पताल जस्तो छैन । किनभने त्यहाँ स्वासप्रस्वासको समस्या लिएर आउने कोभिडका बिरामीलाई दिनका लागि अक्सिजन पनि छैन ।

अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर भएपनि त्यसलाई सञ्चालन गर्ने पाइपलाइन जोडिएको छैन । अक्सिजन दिन कन्सल्ट्रेसन त छ तर स्वासप्रस्वासमा समस्या भइसकेका बिरामीलाई त्यसले पुग्दैन । एउटा सिलिण्डर खाली भएपछि अर्को जडान गर्न झण्डै एक घण्टा समय लाग्छ जुन बिरामीको स्वास्थ्यका लागि सामान्य विषय होइन ।

अस्पतालमा ‘हाई ब्लो’ अक्सिजन जरुरी छ तर सरकारले अहिलेसम्म त्यसको प्रवन्ध गरिदिएको छैन । कोअर्डिनेटर डा.डेन आचार्य यही अवस्थालाई सुधार गर्ने प्रयत्नमा हुनुहुन्थ्यो । उहाँले लामो समयदेखि अक्सिजनको पाइपलाईनलाई व्यवस्थित गर्न पहल गरिरहनुभएको थियो तर प्रयत्न सफल हुन सकेन ।

बुधबार पहिलो पल्ट कोभिड १९ अस्पताल विराटनगरमा नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भयो । साउन २६ गते अस्पताल भर्ना भएकै दिन उहाँको रगतमा ८४ प्रतिशत मात्र अक्सिजनको मात्रा देखिएको थियो । उहाँलाई अक्सिजन त दिइएको थियो तर, प्रयाप्त थिएन । भेन्टिलेटर नभएकोले उनको अस्पतालमा मृत्यु भयो ।

भेन्टिलेटर छन्, तर चलेका छैनन्

अस्पतालमा ६ वटा भेन्टिलेटर त छन् । तर, कुनैपनि भेन्टिलेटर चालु छैनन् । त्यसलाई सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम औषधि र प्राविधिकको व्यवस्था छैन । जसले गर्दा बिरामीमा थोरै समस्या देखिनासाथ धरान रेफर गर्नुपर्ने वाध्यतामा कोभिड अस्पताल रहेको त्यहाँ कार्यरत एक चिकित्सकले बताए ।

कोभिड अस्पतालका संयोजक डा. आचार्यको फेसबुक स्टाटस त्यो बेलामा आयो जतिबेला अस्पतालमा बिरामीको मृत्यु भयो । स्रोत साधनको अभाव नभएको भए बिरामीको उपचारमा थप मिहेनत गर्न सकिन्थ्यो भन्ने उहँँको आशय देखिन्छ ।

संयोजक आचार्यले बुधबार पहिलो पटक गुनासो सार्वजनिक गर्नुभएको होइन । त्यसको ठिक ५ दिन अघि उहाँले लामो स्टाटस लेखेर विराटनगरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले अवस्था गम्भीर बनेको तर अस्पतालको पूर्व तयारी कमजोर रहेको सार्वजनिक गर्दै अस्पतालको कोअर्डिनेटरको जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको थियो । कोरोना भाइरस समुदायमा फैलिसकेको र नियन्त्रण गर्न गाह्रो हुने भन्दै उहाँले स्रोत साधनको अभावमा काम गर्न नसकिने उहाँको भनाइ थियो ।

आइसोलेसन कक्ष कि अस्पताल ?

कोसी कोभिड–१९ अस्पताल यस कारणले पनि अस्पताल जस्तो छैन कि त्यहाँ आइसोलेसन कक्ष मात्र छ । लक्षण देखिएका बिरामीको उपचार गर्न आइसियु पनि सञ्चालनमा छैन । भेन्टिलेटर सञ्चालनका लागि आवश्यक पर्ने अक्सिजन, एनेस्थेसिया, अन्य औषधि र जनशक्ति छैन । त्यहाँ काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन पनि छैन । जसले कोभिड अस्पताल प्रभावकारी रुपमा चलेको छैन ।

अस्पतालमा कमसेकम पनि डबल म्यानिलोल्डको अक्सिजन सिलिण्डर भए ५ घण्टासम्म चल्ने र उपचार सहज हुने त्यहाँ कार्यरत डा.दिपक सिग्देल बताउनुहुन्छ । ‘सबै बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्छ भन्ने होइन, जसको अवस्था भेन्टिलेटरमा राखेरै उपचार गर्नुपर्ने हुन्छ, उसलाई राख्नुपर्छ,’ उहाँले भन्नुभयो ‘त्यसका लागि अस्पतालमा न्यूनतम स्रोत साधन अद्यावधिक हुनुपर्छ भनेर हामीले भनिरहेका छौं ।’

कोशी कोभिड अस्पतालमा ६ थान भेन्टिलेटर राखियो तर यतिन्जेल सञ्चालनमा आएन । अस्पतालका प्राविधिकहरुले पटक–पटक सरकारलाई आइसियु र भेन्टिलेटर सञ्चालन गर्नका लागि आावश्यक पर्ने स्रोत र साधनहरुको बारेमा सरकारलाई जानकारी गराए । तर सरकारले त्यसका लागि गम्भीरता पूर्वक पहल गरेन ।

लक्षण देखिएका बिरामी र नदेखिएका बिरामीहरु कोभिड अस्पतालमा छन् । जसले गर्दा पनि उपचारमा पनि बाधा पुगेको छ । चिकित्सकको भनाइ छ ।

कोभिडमा कसलाई राख्ने ?

केही समय अघि कोभिड –१९ अस्पतालमा एउटा घटना भयो । लक्षण देखिएका संक्रमितलाई जब अस्पताल लगियो, त्यहाँ आइसोलेसनमा बसेका संक्रमितहरुले अस्पतालको ढोका बन्द गरिदिए । अस्पतालमा बसेकाहरुमा लक्षण थिएन । उनीहरुले लक्षण भएका बिरामीलाई अस्पताल प्रवेश गर्नै दिएनन् ।

यस घटनाले अस्पतालमा कसलाई राख्ने भनेर सोच्न बाध्य भएको चिकित्सकहरुले बताएका छन् । कोभिड अस्पतालमा एक जना चिकित्सकले भन्नुभयो ‘कोभिडमा लक्षण भएका र अझ गम्भीर बिरामीहरुले उपचार पाउनुपर्छ, तर, हाम्रोमा लक्षण नभएकाहरुले अस्पताल भरिएको छ लक्षण भएकाहरु अस्पताल आउनै नपाउने गम्भीर अवस्था छ, जुन हुनुहुँदैन ।’

कोभिड अस्पतालका मेडिकल संयोजक डा. दिपक सिग्देल पनि लक्षण नभएका संक्रमितहरु घरमै आइसोलेसनमा बस्नुपर्ने वा सरकारले त्यस्ता संक्रमितका लागि अर्को कुनै आइसोलेसनको प्रवन्ध गर्नुपर्ने बताउनुहुन्छ । ‘लक्षण भएपनि अवस्था सामान्य भएकाहरुलाई पनि घरमै वा अन्यत्र आइसोलेसन राखेर गम्भीर अवस्थाका बिरामीलाई उपचार दिनेगरी अस्पताललाई अघि बढाउन जरुरी छ,’ संयोजक सिग्देलले भन्नुभयो ।

उपचारको पाटोमा कामै भएन

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले तीन चरणमा काम गर्ने घोषणा गर्यो । त्यसलाई ‘थ्रि टि’ भनेर परिभाषित गरियो । पहिले पहिचान (ट्रयाक) गर्ने, दोश्रो परीक्षण (टेस्टिङ) गर्ने र तेस्रो उपचार गर्ने । अहिले पहिचान र परीक्षणको काम त भइरहेको छ । तर, उपचारको पाटोमा सरकारले गम्भीरतापूर्वक काम गरेन ।

जसले गर्दा गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई आवश्यक सेवा दिन अस्पताल असमर्थ देखिएको छ । अस्पताल निर्माण भएर सञ्चालनमा आएको पाँच महिना बितिसक्दा पनि आइसियु तयार हुन सकेन र अत्यावश्यक उपकरण र जनशक्तिको प्रवन्ध भएनन् । नाम नबताउने सर्तमा एक जना चिकित्सकले भन्नुभयो ‘सुधारका हरेक प्रयत्नहरु सफल नभएकै कारण जिम्मेवारीपूर्वक काम गरिरहेका युवा चिकित्सक निराश हुने अवस्था भयो ।’

संक्रमितको अनुभबमा जेलजस्तै बसाई

त्यसो त कोभिड उपचार केन्द्रमा बसेका कोरोना संक्रमितहरुले पनि अस्पतालको व्यवस्थापन राम्रो नभएको बताएका छन् । चिकित्सकले वडामा पुगेर विरामीको अवस्था नबुझी सिसिटीभीबाट मात्र हेर्ने तथा खानपान र सरसफाइमा पनि ध्यान नदिएको संक्रमितहरुले बताउँदै आएका छन् ।

विरामीलाई जेलमा थुने जस्तो थुनेर मात्र राखिएको र उनीहरुलाई मनौवैज्ञानिक रुपमा परामर्श नदिएको तथा ६०÷७० जनाको लागि ४ वटा मात्र शौचालय हुँदा समस्या भएको कोभिड अस्पतालमा १२ दिन बसेपछि कोरोनामुक्त भएर डिस्चार्ज हुनुभएकी विराटनगरकै स्मीता शर्माको भनाइ छ । कोरोना भाइरस यस्तो हो, यसरी बस्नुपर्छ, यसरी जोगिनुपर्छ, यस्तो खानुपर्छ भन्ने किसिमको मोटिभेशन पनि नहुँदा संक्रमितहरुमा मानसिक तनाब हुने गरेको उहाँको भनाइ छ ।

टेक्निसियनहरु जान नमान्दा समस्या

कोभिड १९ अस्पताल १० दिनमा तयार पारियो । काम गरेको देखाउनका लागि प्रदेश सरकारले हतारमा अस्पताल सञ्चालनमा ल्यायो । जतिबेला विराटनगरमा कोभिड अस्पताल सञ्चालन गरियो, त्यतिबेलासम्म प्रदेश १ मा संक्रमण भेटिएकै थिएन ।

केही समय अस्पताल त्यतिकै राखियो र प्रदेश सुरक्षित रहेको भाषणहरु गर्न थालियो । त्यहीबीचमा उदयपुरको भुल्केमा १२ जना संक्रमित फेला पर्यो र उनीहरुलाई अस्पताल ल्याइयो । संक्रमितलाई अस्पताल ल्याएपछि कुनैपनि प्राविधिकहरु अस्पताल जान मानेनन् ।

अवस्था यस्तो सम्म भयो कि बिजुली वा एसी बिग्रदापनि बनाउने प्राविधिकहरु प्रवेश गर्न नमान्ने समस्या रहेको डा.सिग्देलले बताउनुभयो । स्वास्थ्य प्राविधिकहरुको सवालमा पनि त्यस्तै समस्या देखियो । निकै मिहेनत गरेर मात्र अस्पताल अहिलेको अवस्थामा सञ्चालन भएको कार्यरत चिकित्सकहरुको दावी छ ।

प्लाज्मा थेरापी र औषधिको चाँजोपाँजो छैन

सरकारले कोरोना उपचारमा प्लाज्मा थेरापी गर्न कोशी अस्पताललाई अनुमति दिएको छ । प्लाज्मा थेरापी कोरोना उपचारमा अहिलेसम्म अपनाइएको उच्च प्रविधिको हो ।

सरकारले अनुमति दिएपनि त्यसको चाँजोपाँजो मिलाउने कुनै काम थालिएको छैन । सरकारले प्लाज्मा थेरापी कक्ष र आवश्यक सबै काम अघि बढाउनु भन्ने पत्र पठाएपनि अस्पताल प्रशासनले त्यसतर्फ ध्यान नदिँदा काम अघि बढ्न नसकेको हो ।

यसैगरी कोरोना उपचारमा प्रभावकारी ठानिएको रेमडेसिभिर नामक औषधि कतिपय व्यक्तिले व्यक्तिगत रुपमा भारतबाट ल्याएर प्रयोग गरिरहेका छन् । कतिपयले स्टकसमेत गरेका छन् । नेपालमा आयात र बिक्री अनुमति नभएको उक्त औषधि आयात गर्ने र प्रयोग गर्ने विषयमा पनि प्रदेश सरकारले काम नगरेको भन्दै स्वास्थ्यकर्मीहरुले नै गुनासो गरिरहेका छन् ।

भारतमा प्रतिभायल ४ हजार ५०० रुपैयाँ पर्ने उक्त औषधि एक जना बिरामीलाई ७ भायल जरुरी पर्छ । अवैधरुपमा आयात भएको उक्त औषधि नेपालमा खरिद गर्दा एक लाख भन्दा बढी तिर्नुपर्छ ।

बल्ल आईसियु सञ्चालनको तयारी

अस्पताल स्थापना भएको झण्डै छ महिना हुनलाग्दा पनि अस्पतालमा न्यूनतम सेवा बिस्तार नभएको भन्ने गुनासो बढेसँगै कोभिड अस्पताल विराटनगरमा बल्ल आइसियु सञ्चालन गर्ने तयारी गरिएको छ । बुधबार कोभिड अस्पतालमा स्वासप्रस्वासको समस्या भएका बिरामीको अकस्मात मृत्यु भएपछि मेडिकल इन्चार्ज दिपक सिग्देल आइसियु सञ्चालनका लागि बुधबारदेखि नै प्रयत्नशिल हुनुहुन्छ ।

डा.सिग्देलको निरन्तरतको पहल र प्रयत्नबाट आज बिहीबार अपरान्हबाट न्युनतम चार शैय्याको आइसियु सञ्चालन हुने अवस्था सिर्जना भएको छ । डा. सिग्देलले भन्नुभयो ‘म केही दिनदेखि आइसियु सञ्चालन गर्न पुरै प्रयत्न गरिरहेको छु सायद छिट्टै सुरु हुन्छ होला ।’

प्रोत्साहन भत्ता काटियो

सरकारले कोभिड रोकथाम तथा नियन्त्रणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो । सरकारले उनीहरुको बिमा लगायतका सुविधा पनि घोषणा गरेको थियो । तर, सरकारले भनेअनुसार अग्रभागमा बसेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुले प्रोत्साहन भत्ता पाएनन् ।

कोशी कोभिड अस्पतालको अग्रपंक्तिमा खटिएका चिकित्सकहरुले समेत ५० प्रतिशत मात्र भत्ता पाएका छन् । प्रोत्साहन भत्ता काटिएपछि स्वास्थ्यकर्मीहरु उत्साहित नभई निराश हुन थालेको बताइएको छ ।

बिहिबार, २९ साउन, २०७७, साँझको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर