फेसबुकमा नांगो फोटो राखेपछि हत्या

काठमाडौं । आफ्नो नांगो फोटो बनाएर सामाजिक सञ्जाल फेसबुकमा राखेपछि दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको आरोपी महिलाले स्वीकार गरेकी छन् ।

काठमाडौंको गोंगबुमा आइतबार बिहान सुटकेशमा शव फेला परेका बोहोरालाई रक्सीमा नसालु पदार्थ मिसाएर खुवाएपछि अण्डकोषमा हानेर हत्या गरेको प्रहरी नियन्त्रणमा रहेकी कल्पना मुडभरी पौडेलले बताएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न मुडभरी पौडेललाई सार्वजनिक गरेको छ। परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार कल्पना र कृष्णबहादुरबीच ४ वर्षदेखिको सम्बन्ध थियो ।

कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर निर्वस्त्र तस्बिरहरू राख्न थालेपछि रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएर सुताएपछि अण्डकोसमा हम्बरले हानेर हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न भण्डारीले टाउको र खुट्टा काटेको खुलेको छ ।

शव फालेर उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएकी थिइन् । प्रहरीले उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो। हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको पाइएको प्रहरीको भनाइ छ ।

अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिनुभयो । पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको छ ।

बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

मङ्गलबार, २७ साउन, २०७७, दिउँसोको १२:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर