विराटनगरमा ४२ संक्रमित देखिएको गुद्री क्षेत्र शिल (फोटोफिचर)

बूढीगंगा–१ को पनि आरती स्ट्रिप्स उद्योग रहेको क्षेत्रमा पनि कडाई

विराटनगर । कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि विराटनगर महानगरपालिकाको ९ नम्बर वडाको केही क्षेत्रलाई शिल गरिएको छ ।

बिराटनगरको मध्य बजारमा पर्ने गुद्री बजार आसपासको क्षेत्रमा कोरोना संक्रमण व्यापाक भएपछि आइतबार रातिबाट प्रशासनले सवारी साधन र मानिसको आवतजावतलाई पूर्ण रुपमा रोक लगाएको हो ।

अहिलेसम्म ४२ जना कोरोना संक्रमित भेटिएको र २ जनाको मृत्यु भएको ९ नम्बर वडाको हनुमान मन्दिर पश्चिममा भट्टिमोड, उत्तरमा शनिमन्दिर र दक्षिणमा ट्राफिकचौकसम्म ७२ घण्टाको लागि शिल गरिएको हो । गुद्री बजारसँग जोडिने लिंक सडकहरुबाट आवत–जावतमा पूर्ण रुपमा प्रतिबन्ध लगाएर सबै सडकमा प्रहरीले ढाट लगाएको छ ।

वडा प्रहरी कार्यलय विराटनगर(क)का डिएसपी वेदप्रकाश गौतमको नेतृत्वमा खटिएको प्रहरीले सर्वसाधारणलाई घरबाहिर ननिस्कन सुचित गरिरहेको छ । सो वडामा आइतबार मात्र एकै परिवारका ११ सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि जिल्ला सुरक्षा समिति मोरङको बैठकले कडाई गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।

सबैभन्दा बढी संक्रमित भेटिएको वडामा पीसीआर परीक्षणको दायरा फराकिलो पार्न र संक्रमितको पहिचानलाई प्राथमिकतामा राख्न कडाई गरिएको हो । विराटनगर महानगरपालिकामा आइतबारसम्म ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

विराटनगरमा साउन १६ गतेबाट दुई साताका लागि ‘लकडाउन’ गरिएको छ । तर, ‘लकडाउन’को उल्लंघन भएको र संक्रमित धेरै भेटिएका क्षेत्रमा अत्याधिक भीडभाड हुने गरेपछि स्थानीय प्रशासनले कडाई गरेको हो ।

उता बूढीगंगा–१ को पनि आरती स्ट्रिप्स उद्योग रहेको क्षेत्रलाई लक्षित गरेर कडाई गरिएको छ । पुष्पलाल चौक पश्चिममा कोशी राजमार्ग, उत्तरमा टंकीसिनुवारी र दक्षिणमा महानगरपालिकाको ढाट क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको प्रशासनले जनाएको छ । आरतीमा कार्यरत रहेका २२ जनामा कोरोनाको संक्रमण देखिएपछि उद्योगनै शिल गरिएको छ ।

सोमबार, २६ साउन, २०७७, दिउँसोको १२:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर