प्रदेश सरकार रमिते बनेको कांग्रेसको आरोप

विराटनगर । कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्य प्रदेश सरकार जिम्मेवार नेदेखिएको भन्दै नेपाली कांग्रेस प्रदेश नं १ संसदीय दलले सरकारको कडा आलोचना गरेको छ ।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आज विज्ञप्ति प्रकाशित गर्दै जनताको ज्यान बचाउने कार्य गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभएको हो । ‘मुख्यमन्त्री दैनिक सामाजिक संजालको भिडियोमा आएर कोरोनासँग लडिरहेको, परास्त गर्न लागेको, घेराबन्दी भैसकेको जस्ता हल्का कुरा गरी जनमानसमा भ्रम छर्ने काम भयो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारका कमी कमजोरी र भ्रष्टाचारबाट जोगिन कोभिड १९ लाई राम्रोसँग ढालको रुपमा प्रयोग गर्न सफल रह्यो । सरकारले मिडियामा र संसदमा पटक पटक प्रर्याप्त मात्रामा आइसोलेसन बेड तयारी रहेको भनि दिएको अभिव्यक्ती अहिले आएर झुटो सावित भएको छ ।’

विज्ञप्तिमा आफ्नो दलले लकडाउन अगाडि नै कोभिड–१९ को संक्रमण बढ्ने खतरा औंल्याउँदै सम्पूर्ण तयारी गर्न सरकारलाई झक्झक्याए पनि सो अनुरुप सरकारले नगरेको उल्लेख छ ।

‘जनताको अगाडि मुखै देखाउन नसकेर मुख्यमन्त्री लामो समयसम्म काठमाडौ बस्नुले जनताप्रति सरकार कति जिम्मेवार छन् भन्ने छर्लङ्ग भएको छ । कोशी अस्पतालमा अक्सिजनसम्म नहुनु कति लाजमर्दो कुरा हो ?,’ प्रश्न गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘लेभल ३ भनेको अस्पताल अझै पूर्ण निर्माण हुन नसकेको र विरामी सिकिस्त हँुदा उपचार गर्न नसक्ने र अस्पतालको गेटमै ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनु दुःखद कुरा हो ।’

मोरङको गोठगाँउको पूर्वाञ्चल विश्व विद्यालयको अस्पताल लेभल १, विराटनगरको कोशी कोभिड अस्पताल लेवल २ र धरानको वीपी प्रतिष्ठान लेभल ३ भनेपनि समुदायमा संक्रमण फैलिएर संक्रमित बढेपछि संक्रमितलाई व्यवस्थापन गर्न सरकार असफल भएको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार, २५ साउन, २०७७, साँझको ०५:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर