विराटनगरका ३८ संक्रमित अस्पताल पुग्न पाएनन्

संक्रमितले सबै अस्पतालका शैय्या भरिए, संक्रमितको व्यवस्थापन कसरी गर्ने भन्ने अलमलमा सरकार

विराटनगर । अस्पतालका शैय्या भरिएपछि विराटनगर महानगरपालिका ३८ जना कोभिड १९ बाट संक्रमितहरु दुई दिनदेखि घरमै बस्न बाध्य छन् । कतिपय त त्योभन्दा ४/५ दिन अगाडिदेखि घरमै छन् ।  शनिबार संक्रमण पुष्टि भएका ३३ जनाको त अझै सोधीखोजी सुरु नै भएको छैन ।

सुरुवाति दिनमा आरडिटी पोजेटिभ आउँदा गाडीको लस्कर लिएर पुग्ने प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधि र अधिकारीहरुले कोरोना पोजेटिभ पुष्टि भएको ३/४ दिनसम्म पनि सोधीखोजी गर्न छोडेका छन् ।

विराटनगर महानगरपालिकाका विभिन्न वडाहरुमा कोरोना पुष्टि भएका लक्षण देखिएका र नदेखिएका संक्रमितहरु असुरक्षित ढंगले घरमै बसिरहेका छन् । विराटनगर ५ का एक संक्रमितले भन्नुभयो ‘मलाई वडा कार्यालयबाट तपाईलाई कोरोना संक्रमण पुष्टि भएको छ, सुरक्षित ढंगले बस्नुहोला भनेर टेलिफोन आयो त्यसपछि कसैले सम्पर्क गरेका छैनन् ।’ संक्रमण भएपछि कतै हिँडडुल गर्न जान हुँदैन भन्ने थाहा भएपनि घरकै अरु सदस्य जोखिममा पर्ने भएकोले उहाँलाई थप चिन्ता भएको छ ।

उद्घोष दैनिकमा कार्यरत विराटनगरका पत्रकार कमल रिमालमा शुक्रबार अपरान्ह कोरोना संक्रमण पुष्टि भएपनि शनिबार अपरान्हसम्म उहाँ घरमै हुनुहुन्छ । घरमा बस्नुभन्दा अस्पतालको आइसोलेसनमा बस्नु सुरक्षित महशुस हुने ठान्नुभएका उहाँका लागि अहिलेसम्म अस्पतालको प्रबन्ध गरिएको छैन । उहाँलगायत विराटनगरका ३८ जनाले उस्तै समस्या झेल्नुपरेको छ ।

विराटनगर महानगरपालिकाका कोभिड १९ कन्ट्रयाक्ट टे«सिङ सुपरभाइजर हैदर अलीका अनुसार मोरङ र सुनसरीका सबै अस्पतालका वेड भरिएका कारण संक्रमितलाई घरमै राख्नुपरेको हो । ‘हामीले संक्रमितसँग सम्पर्कमा पुगेकाहरुको पहिचान गर्ने र उनीहरुको परीक्षण गर्ने काम गरिरहेका छौं । तर, संक्रमितलाई भने अस्पताल अभावले गर्दा घरमै सुरक्षित बस्न भनेका हौं,’ अलीले भन्नुभयो ‘अस्पतालको बेड खाली हुनासाथ उहाँहरुलाई अस्पतालमै लैजान्छौं ।’

संक्रमितमध्ये १० जनाले भने घरमै आइसोलेसन बस्ने प्रस्ताव गरेको सुपरभाइजर अलीले बताउनुभएको छ । शुक्रबार रातिसम्म पोजेटिभ देखिएका महानगरका संक्रमितहरुमध्ये ३८ जना घरमा छन् भने शनिबार ३३ जना थप संक्रमित पुष्टि भएको छ । उनीहरु पनि घरमै छन् ।

विराटनगर मात्र होइन प्रदेशभर ६० जना भन्दा बढी कोरोना संक्रमित अहिले अस्पताल पुग्न सकेका छैनन् । संक्रमण पुष्टि भएर पनि घरमै बस्नेहरुको संख्या करिब ६० जना रहेको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड १९ अस्पताल विराटनगरका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले शनिबार कोभिड अस्पतालको आइसोलेसनमा रहेका ८ जनाको नेगेटिभ रिपोर्ट आएको र गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविदालयका ८९ जनाको स्वाब संकलन भएकोले आइतबार केही व्यवस्थापन गर्न सकिने जानकारी दिनुभएको छ ।

प्रदेशमा ३ सय आइसोलेसन बेड
प्रदेश १ मा अहिले जिल्ला अस्पतालहरुकोसमेत गरी ३ सय ५० हाराहारी आइसोलेसन बेडहरु सञ्चालनमा छन् । जबकी प्रदेशमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या भने ४६० छ । त्यस आधारमा ११० भन्दा धेरै संक्रमित अहिले अस्तालबाहिरै छन् । दिनहुँ संक्रमितको संख्या थपिदै गएको सन्दर्भमा अस्पतालहरुमा आइसोलेसन बेडको अभाव भएको हो ।

प्रदेश १ मा शनिबारसम्म १३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९०८ जना उपचारपछि निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

अहिले प्रदेश सरकारले स्थापना गरेको कोसी कोभिड १९ अस्पताल विराटनगरमा ६० शैय्या, कोसी अस्पतालमा १० शैय्या, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १००, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा १२५ र मेची अस्पताल झापामा २५ शैय्याको आइसोलेसन सञ्चालन भइरहेको छ । धरानमा ९० जना संक्रमित उपचाररत रहेकोले लक्षण भएका संक्रमितका लागि १० शैय्याको प्रवन्ध मिलाउन सकिने सम्भावना रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिनुभयो ।

आइसोलेसन किन अभाव भयो ?

प्रदेश सरकारले दुई चरणमा निर्णय गरेर प्रदेशभर १६ सयभन्दा बढी आइसोलेसन शैय्या तयारी अवस्थामा राखेको जानकारी सार्वजनिक गरेको थियो । पहिलो पटक गत चैत १३ गते प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशका निजी अस्पतालहरुमा ८ सय शैय्या आइसोलेसन तयारी हातलमा राख्न निर्देशन दिएको भन्दै संक्रमित बढेको अवस्थामा अस्पतालको प्रवन्ध गर्न सकिने बताउनुभएको थियो । तर, ३ सय जना संक्रमित हुँदै प्रदेशमा कोरोनाका बिरामी तथा संक्रमितहरु राख्न नसक्ने विडम्वनापूर्ण अवस्था उत्पन्न्न भएको छ ।

मन्त्री घिमिरेले नोवेल अस्पतालमा २००, विराट अस्पतालमा १००, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २००, कोसी अस्पतालमा १००, मेची अस्पतालमा ५० र बिएण्डसी अस्पतालमा १५० शैय्या आइसोलेसन बन्ने जानकारी दिनुभएको थियो । तर, बीपी र कोसी बाहेक अहिलेसम्म निजी अस्पतालहरुले प्रदेश सरकारलाई आइसोलेसन उपलव्ध गराएका छैनन् । बरु विराटनगरका अधिकांश ठूला अस्पतालहरुमा कोरोना संक्रमण फैलिएपछि आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् ।

निजी अस्पतालले सरकारले दिएको निर्देशन नमानेपछि जेठ ९ गते प्रदेश सरकारले थप ८५० शैय्या आइसोलेसन थप गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा रहेको प्रदेश विपद् व्यवस्थापन समिति (सीसीएमसी)ले कोभिड कार्ययोजना स्वीकृत गर्दै दैनिक १ हजार स्वाब परीक्षण गर्ने र आइसोलेशन शैय्या ८५० बनाउने निर्णय गरेको थियो ।

बैठकले कोसी कोभिड अस्पतालको क्षमता विस्तार गरी २०० शैय्या बनाउने निर्णय गरेको थियो । जबकी अस्पतालमा अहिले पनि ६० शैय्या मात्र सञ्चालनमा छन् । अस्पतालको व्यवस्थापनको जिम्मेवारी लिनुभएका जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख ज्ञानबहादुर बस्नेतले क्षमता बढाउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । तर, कहिलेसम्म क्षमता विस्तार हुन्छ भन्ने यकिन छैन ।

प्रदेशस्तरीय सीसीएमसीले झापामा २०० शैय्या, गोठगाउँमा २०० शैय्या, बीपीमा ३ सय शैय्या, चतरा स्थित कृष्णदास आश्रममा २०० शैय्या र नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा ५० शैय्याको आइसोलेसन तयार गर्ने निर्णय भएको थियो । तर, निर्णय कागजमै सीमित छ । उक्त निर्णय कार्यान्वयन गर्ने काम नै सुरु गरिएको छैन । जसले गर्दा प्रदेशमा संक्रमितको उपचारका लागि अस्पताल अभाब देखिएको छ ।

होम आइसोलेसन प्रवद्र्धन गर्छौं – मन्त्री घिमिरे

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले यसअघि व्यवस्थापन गरेको आइसोलेसन वार्डहरु अहिले अपुग हुन थालेको बताउँदै सरकार होम आइसोलेसन प्रवद्धैन गर्नेतर्फ अगाडि बढेको बताउनुभएको छ । ‘पहिलेको व्यवस्थापन अपुग हुने भो, अब सरकारी सेवा र क्षमता विस्तार गर्छौं साथै होम आइसोलेसन गर्नेतर्फ पनि मन्त्रालयले प्रस्ताव तयार गरेको छ,’ मन्त्री घिमिरेले भन्नुभयो ‘आइतबार बस्ने सिसिएमसीको बैठकमा निजी अस्पताललाई पनि आइसोलेसन राख्न अनुमति दिने तथा होम आइसोलेसनमा बस्ने अनुमति दिने प्रस्ताव मन्त्रालयले तयार पारेको छ ।’

निजी अस्पतालहरुलाई विगतमा पनि आइसोलेसन तयारी अवस्थामा राख्न भनि गरेको निर्देशन उनीहरुले पालना नगरेको भन्दै मन्त्री घिमिरेले अब निजी अस्पतालका संक्रमितहरुले भने आफ्नै अस्पतालमा आइसोलेसन बस्नु पर्ने बताउनुभयो । ‘आज नोबेलमा चार जनामा संक्रमण पुष्टि भएको छ अस्पताललाई आइसोलेसन प्रवन्ध गरेर राख्न हामीले भनेका छौं, अब सबै अस्पतालहरुले यसरी नै आइसोलेसन स्थापना गरेर चलाउनु पर्छ,’ मन्त्री घिमिरेले भन्नुभयो । निजी अस्पतालले आफ्ना कर्मचारीलाई आइसोलेशन बनाएर राखे पनि सर्वसाधारणले के गर्ने भन्ने अन्यौल छ ।

विपद्को बेलामा स्वास्थ्य संस्थाहरुले जिम्मेवारी निर्वाह गर्नुपर्नेमा फिभर क्लिनिकसमेत सञ्चालन नगरेको भन्दै मन्त्री घिमिरेले अहिले सबैले आकस्मिक सेवा सञ्चालनमा ल्याएकोले आइसोलेन पनि सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सरकारले होम आइसोलेशनको अवधारणा ल्याए पनि त्यसको कार्यान्वयन सहज छैन ।

पूर्वतयारी कमजोर भएकोले सरकार अलमलमा
खासगरी सीमित कोठा हुने घर र डेरामा बस्नेहरुमा संक्रमण भए उनीहरुलाई होम आइसोलेशनमा राख्न संभव नहुने भएकोले उनीहरुलाई सरकारले नै व्यवस्थापन गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन् । नागरिक सचेत नहुँदा होम आइसोलसनले अझै संक्रमण विस्तार गर्ने खतरा रहेको उनीहरुको भनाइ छ । कोरोना संक्रमितलाई कुनै होटल वा निजी अस्पताललाई प्रदेश सरकारले लिएर सुरक्षित साथ राख्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको बेला यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकार नै अलमलमा देखिएको छ । यसअघि कोरोना सरकारले नियन्त्रणमा राखेको दावी गर्ने सरकारका मन्त्रीहरु नै अहिले अत्तालिएका छन् ।

सरकारले साउन पहिलो सातापछि कोरोना सकिएजस्तो व्यवहार गरेकोले अहिलेको अवस्था जटिल बनेको विज्ञहरुको भनाइ छ । प्रदेशमा संक्रमण उच्च बन्दै गइरहेको बेला दुई सातादेखि प्रदेश सरकारका मुख्यमन्त्री काठमाडौंमा छन् । अन्य मन्त्रीहरु पनि काठमाडौंबाट भर्खरै फर्किएका छन् । मुख्य नेतृत्व नै प्रदेश बाहिर रहेकाले पनि कोरोना नियन्त्रणको प्रभाबकारी योजना बनाउन नसकेको कर्मचारी नेतृृत्वको बुझाई छ ।

शनिबार, २४ साउन, २०७७, दिउँसोको ०४:११ बजे

One thought on “विराटनगरका ३८ संक्रमित अस्पताल पुग्न पाएनन्

प्रतिक्रिया:

सम्बन्धित खवर