आरतीमा थप १२ जनालाई कोरोना पुष्टि

मजदुरमा संक्रमण देखिएपछि व्यवस्थापनले जबरजस्ती उद्योग सञ्चालन गर्दा जोखिम बढ्यो

विराटनगर । मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसक्दा पनि जबरजस्ती उद्योग सञ्चालन गरेको कारण मोरङको बुढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्स् इण्डस्ट्रिज प्रा. लि.मा थप थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ल्याबमा गरिएको प्रशिक्षणमा शनिबार उद्योगका थप १२ कर्मचारी र मजदुरहरूमा कोरोना संक्रमण देखिएको हो ।

उद्योगमा यसअघि नै ६ जना कर्मचारीमा कारोना संक्रमण पुष्टि भएको थियो । समूहमा काम गर्नेहरुमा कोरोना देखिएपछि संक्रमितको सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टाइनमा राख्नुपर्नेमा उद्योग बन्द नगरी काममा लगाएको कारण थप १२ जनामा कोरोना देखिएको हो ।

आरती स्ट्रिप्सका जनसम्पर्क अधिकृत दिवश नेपालका अनुसार पछिल्लो पटक उद्योगका ८० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश सरकारले जनाएको छ ।

उद्योगमा कार्यरत २ जना कर्मचारीमा सुरूमा कोरोना देखिएको थियो । त्यसपछि नै उद्योग बन्द गर्न बुढिगंगा गाउँपालिकाले पत्राचार गरेकोमा व्यवस्थापन पक्षले जबरजस्ती गर्दा कोरोना फैलिएको हो । तर, प्रशासनिक र राजनीतिक पहुँच प्रयोग गर्दै उद्योग बन्द नगरी सञ्चालन गरिरहेको छ । आरतीमा काम गर्ने मजदुरमा कोरोना पुष्टि हुँदा पनि अन्य मजदुरहरु क्वारेन्टाइनमा नबसेको कारण आसपासको बस्तीमा पनि कोरोनाको त्रास फैलिएको छ ।

उद्योग सञ्चालकले कोरोनाको कहरबीच उद्योग चालु राख्दा मजदुर तथा कर्मचारीमार्फत समुदाय नै जोखिममा पुगेको छ । अघिल्लो पटक लकडाउन हुँदा आरतीका अधिकांश मजदुर भारत फर्केकोमा लकडाउनको कारण लुकिछिपी मजदुरलाई ल्याएर उद्योग चलाएकोले कोरोना फैलिएको स्थानीयले बताएका छन् ।

मजदुरलाई कोरोना देखिएपछि उद्योग शिलबन्दी गर्नुपर्नेमा गेटमा ताला लगाएर शिलबन्दी गरेको गलत प्रचार गरी उद्योग सञ्चालन गरिरहेको आरतीमाथि कार्वाहीको माग स्थानीयले गरेका छन् । उद्योगमा काम गर्ने धेरै मजदुर उद्योग बाहिर बस्ने भएकोले समुदायमा जोखिम बढेको विराटगर ५ का स्थानीय तिलक बस्नेतले जानकारी दिनुभयो ।

टोलमा बसेर उद्योगमा काम गर्नेहरुमा संक्रमण भेटिएकोले थप जोखिम देखिएको छ । आरतीका स्ट्रिप्सका जनसम्पर्क अधिकृत नेपालले उद्योग सिलबन्दी गरिएको र आफू घरमै बसेको बताउँदै उद्योग चलेको विषयमा जानकारी नभएको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बुढीगंगा गाउँपालिकाले उद्योग सिल गरेको जानकारी गराएकोमा त्यस विपरित उद्योग चालु रहेको पाइएमा तत्काल बन्द गराउने बताउनुभएको छ। उहाँले दुई दिन मजदुरमा संक्रमण भएपछि उद्योग शिलबन्दी गरेको जानकारी आफूलाई आएको बताउँदै त्यस विपरित उद्योग चलाएको भए तत्काल आवश्यक कदम चाल्ने बताउनुभयो ।

शनिबार, २४ साउन, २०७७, दिउँसोको ०३:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर