विराटनगर । विराटनगर स्थित आरती स्ट्रिप्स् इण्डस्ट्रिज प्रा. लि.मा कार्यरत मजदुर तथा कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण बढिरहेको भएपनि उद्योग नियमित संचालन गर्दा जोखिम बढेको छ ।
उद्योग सञ्चालकले कोरोनाको कहरका बीच उद्योग चालु राख्दा त्यहाँ कार्यरत मजदुर तथा कर्मचारीहरु संक्रमणको जोखिममा परेका छन् भने उद्योगबाट समुदायमा संक्रमण बिस्तार हुने सम्भावना बढेको छ ।
अहिलेसम्म आरती स्ट्रिप्समा कार्यरत ६ जनलाई कोरोना संक्रमण भइसकेको छ । केही बिरामी परीक्षणकै पर्खाईमा रहेको बताइएको छ । आरतीले आफ्नै कोलोनीमा बस्ने कामदारहरुमा संक्रमण भएपनि कोलोनीलाई निर्मलीकरण गर्ने र थप संक्रमण हुन नदिने काम नगरी पूर्ण जोखिममा राखेको बताइएको छ ।
अघिल्लो पटक लकडाउन हुँदा आरतीका अधिकांश मजदुर भारत फर्केका थिए । भारतसँगको सिमाना बन्द भएकै अवस्थामा उद्योगमा कार्यरत मजदुरहरु लुकिछिपी नेपाल भित्र्याउँदा संक्रमण पनि भित्रिएको त्यहाँका मजदुरहरुले बताएका छन् । सरकारले दुई देशबीच आवतजावत बन्द गरेपनि उद्योगले योजना बनाएर कामदार भारतबाट ल्याएका कारण उद्योगमा संक्रमण देखिएको हो । उद्योगमा छ जनालाई संक्रमण भएपनि रोकथाम र नियन्त्रणको उपाय खोज्नुको साटो उद्योग सिलबन्दी गरेको भन्ने प्रचार गरेर भित्र फ्याक्ट्री सञ्चालन गर्नुले भाइरस समुदायमा प्रवाह गर्ने काम भइरहेको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।
आरती स्ट्रिप्समा काम गर्ने धेरै मजदुर उद्योग बाहिर बस्ने भएकोले समुदायमा पनि असर पुगेको छ । उक्त उद्योगमा काम गरी वरिपरीको गाउँमा बस्ने मजदुरहरुलाई संक्रमण देखिएको र उद्योग चालु रहँदा उद्योगका अन्य मजदुर र बस्ती क्षेत्र दुवै प्रभावित हुने अवस्था रहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेका स्वकीय सचिव तिलक बस्नेतले बताउनुभयो । उहाँले आफ्नो टोलमा बसेर उद्योगमा काम गर्नेहरुमा संक्रमण भेटिएको जानकारी दिनुभयो ।
कोरोना संक्रमण फैलिएको भन्दै बुढिगंगा गाउँपालिकाले औपचारिक रुपमा केही समय उद्योग बन्द गर्न आरती स्ट्रिप्सलाई निर्देशन दिइसकेको छ । तर, गाउँपालिकाको निर्देशन विपरित सिलबन्दी गरेको भन्दै भित्र उद्योग चालु राखेको हो ।
आरती स्ट्रिप्सका जनसम्पर्क अधिकृत दिवश नेपालले उद्योगमा करिव ६ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ । उहाँले उद्योग सिलबन्दी गरिएको र आफुपनि घरमै आइसोलेसन बसेको जानकारी दिनुभयो । आफु घरमा भएकोले उद्योग चलेको विषयमा जानकारी नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार उद्योग परिसरमा रहेको कोलोनीमा बस्ने र बाहिर बस्नेमा पनि कोरोना संक्रमण देखिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बुढीगंगा गाउँपालिकाले उद्योग सिल गरेको जानकारी गराएको र त्यस विपरित उद्योग चालु रहेको पाइएमा तत्काल बन्द गराउने बताउनुभयो । उहाँले दुई दिन अघि चार जनामा संक्रमण भेटिएको र ८० जनाको स्वाब परीक्षणका लागि संकलन गरेको जानकारी आफुलाई प्राप्त भएको भन्दै सिलबन्दीको अवस्थामा उद्योग सञ्चालन भएको विषयतमाा तत्काल जानकारी माग गर्ने बताउनुभयो ।