लोड हुँदैछ...

मेनु

संक्रमित चिकित्सक काम गर्ने अस्पताल विनासाबधानी सञ्चालन

संक्रमित चिकित्सक काम गर्ने अस्पताल विनासाबधानी सञ्चालन

विराटनगर । एक जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपनि विराटनगरको विराटनगर सिटी हस्पिटल कुनै साबधानी र सतर्कताविना सञ्चालन भइरहेको पाइएको छ ।

विराटनगर–७ स्थित हस्पिटलको रेडियोलोजी विभागका एक जना चिकित्सकलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएपनि हस्पिटल सेनिटाइजसमेत नगरी सञ्चालन हुँदा संक्रमण फैलने जोखिम बढेको छ ।

मोरङ सहकारी हस्पिटलमा पनि काम गर्ने ती चिकित्सकलाई कोरोना पुष्टि भएपछि सहकारी अस्पतालले भने आकस्मिकबाहेकको सेवा बन्द गरेको छ । यस्तै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको सबैको स्वाब संकलन गरि अस्पताल सेनिटाइज गर्दै आएको छ ।

विराटनगर सिटी हस्पिटलले भने कुनै साबधानी अपनाएको छैन । कोरोना संक्रमित भेटिएको कुनै पनि स्थानलाई तत्कालै शिल गरेर मानिसको आवतजावतलाई रोक्दै सेनिटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्दै केही समयका लागि सुरक्षित राख्नुपर्नेमा सिटीमा कुनै काम भएको छैन ।

कोरोना संक्रमित भेटिएका अन्य अस्पतालले सतर्कता अपनाएर ओपीडी सेवा बन्द गरेपछि सिटीलेसेवा सुचारु राखेपछि उपचारका लागि आउने बिरामीको भीडभाड छ । अस्पतालमा बिरामीको बिल काट्ने, परीक्षण तथा औषधि उपचार गर्ने काम जारी छ ।

अस्पतालका एक स्वास्थ्यकर्मीले संक्रमित भेटिएको अस्पतालमा काम गरिरहनु पर्दा थप जोखिमको अवस्था निम्तिएको गुनासो गरेका छन् । ‘अरुमा संक्रमण फैलन नदिन ‘डिसइन्फेक्ट’ गर्नलाई शिल गर्दै अस्पतालभित्र बाहिरी मानिसको आवतजवात रोक्नुपर्ने हो’ एक चिकित्सकले भने, ‘तर अहिले पनि निर्वाध रुपमा सञ्चालन भइरहेका कारण संक्रमण थप फैलनसक्ने जोखिम बढेको छ ।’

सुरक्षा सावधानी अपनाएर सबैलाई संक्रमणबाट जोगाउनेतर्फ भन्दा पनि पैसा कमाउने ध्याउन्नमा सञ्चालक लाग्दा समस्या भएको स्वास्थ्यकर्मीहरुको भनाइ छ । हस्पिटलका निर्देशक डा.सितल यादवले भने संक्रमित चिकित्सक दिनको एक घण्टा मात्र काम गर्न आउने गरेकोले जोखिम नभएको दावी गर्दै अल्ट्रासाउण्ड सेवा बन्द गरी संक्रमितको सम्पर्कमा आएकाहरूको स्वाब संकलन गर्न पहल भइयरहेको बताउनुभयो ।

मोरङका साहयक प्रमुख जिल्ला अधिकारी ध्रवुबहादुर खड्काले अस्पताललाई सुरक्षित बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो । ‘संक्रमित भेटिएपछि अस्पताल तत्कालै सिल गर्नु पर्ने हो’ उहाँले भन्नुभयो, ‘तर अहिलेसम्म नगरेको जानकारी पाइयो । यस विषयमा बुझेर थप कदम चाल्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।