विराटनगर । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित पत्रकार सम्मेलनमा मोरङमा २, पर्सामा २, सर्लाही, धनुषा र सप्तरीमा १/१ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला रंगेली नगरपालिका ८ दर्वेशा बस्ने ४५ वर्षीय पुरुष रहेका छन् । उनलाई बुधबार गते ज्वरो तथा स्वासप्रश्वासमा समस्या भइ कोसी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । त्यसैगरी मोरङकै विराटनगर महानगरपालिका ९ बस्ने ४५ वर्षीय एक पुरुषको पनि बुधबार कोसी अस्पतालमै मृत्यु भएको हो । मिर्गौला तथा मधुमेहका दीर्घरोगी उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

यसैगरी सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ बस्ने ६५ वर्षीया महिलाको बुधबार काठमाडौंमा मृत्यु भएको हो । उनको उपचारको क्रममा बलम्बु सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उता धनुषा जिल्ला मिथिला नगरपालिका १० लालगढ बस्ने ७२ वर्षीया महिलाको साउन १७ गते ओम अस्पताल तथा रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको पनि जाँच गर्दा कोरोना पुष्टि भएको छ ।

सप्तरीको रुपनी नगरपालिका ५ बस्ने ४२ वर्षीय पुरुषको बुधबार मृत्यु भएकोमा कोरोना पोजेटिभ देखिएको छ । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमाबाट थप उपचारको लागि धरान लैजाने क्रममा मृत्यु भएको हो । उनी डेढ महिनामा पहिले मलेसियाबाट आई होम क्वारेन्टाइमा बसेका थिए ।