काठमाडौं । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बेरुतमा रहेका नेपाली नागरिक सकुशल रहेको बताउनुभएको हो । त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैर-आवासीय नेपाली संघसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा रहेको प्रवक्ता पौड्यालले जानकारी दिनुभयो ।
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउनुभयो । उहाँले मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गर्नुभयो । मंगलबार भएको शक्तिशाली विस्फोटमा परी १ सय ३५ जनाको मृत्यु हुनाका साथै ४ हजार बढी घाइते भएका छन् ।
लेवनानमा भने वैदेशिक रोजगारीको सिलसिलामा १२ हजार बढी नेपाली नागरिकहरु रहेका छन् ।