विराटनगर । कोरोना संक्रमित व्यक्तिको मृत्युको विषयमा विराटनगरको कोशी अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात गर्नेलाई कार्वाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।
संघको कोशी अञ्चल शाखा अध्यक्ष डा.फरवार्ड सिलवालले एक विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण देखिएको विरामीको प्रोटोकल अनुसार आईसोलेशमा राखेर उपचार भइरहेको बेला मृत्यु भएकोमा चिकित्सकमाथिको हातपात निन्दनीय भएको जनाएको छ ।
मंगलबार राति श्वासप्रश्वास बढेपछि कोशी अस्पतालमा भर्ना गरिएका विराटनगर ९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको थियो । उनको मृत्युपछि आफन्तले उपचारमा लापर्वाही गरेको भन्दै आफन्तले चिकित्सकमाथि गालीगलौज र हातपात गरेका थिए । उनको मृत्युपछि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
कोरोना भाईरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानविय संकटको समयमा आफ्नो ज्यानको बाजी लगाउँदै अग्रभागमा रहेर निरन्तर स्वास्थ्य सेवामा सक्रिय चिकित्सकमाथि हातपात गर्नेलाई कानूनी कार्वाही गर्न संघले प्रशासनको ध्यानाकर्षण गराएको छ । कोभिड(१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्नलाई बाधा बिरोध गर्नेलाई सरकारले यसअघि गरेको निर्णय अनुसार ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई बाधा बिरोध गर्नेसरह कार्वाही गर्नुपर्ने संघको माग छ ।
यसअघि अस्पतालको आइसोलेशन विभागमा कार्यरत डा.रंजित यादवले आफूमाथि भएको हातपात र दुव्र्यवहारको विरोधमा संघमा उजुरी दिनुभएको थियो । हातपात भएपछि आपूmले भागेर ज्यान जोगाएको डा.यादवको निवेदनमा उल्लेख छ ।
आफन्तले मृतकको शव लैजान जबरजस्ती गरेको र स्वाबको रिपोर्ट नआएसम्म शव दिन मिल्दैन भनेर अस्पतालले पर्खन आग्रह गर्दा हातपात गरेको अस्पतालले जनाएको छ । जोखिम मोलेर चिकित्सकको उपचारमा खटिने चिकित्सकलाई माथि हातपात भएपछि काम गर्नेको मनोबल घट्ने भन्दै अस्पतालले पनि प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
मृतकका आफन्तहरूले भने चिकित्सकले विरामीलाई नहेरेपछि अस्पतालमा होहल्ला गरेको बताएका छन् । कोरोना संक्रमतिको मृत्यु भएपछि अस्पताल भित्र नाराबाजी गरेका थिए ।