विराटनगर । पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेसँगै लायन्स तथा लियो क्लबहरुले आगामी १६ दिनसम्म विराटनगर महानगरपालिकाका विभिन्न भागहरु निर्मलीकरण गर्ने भएका छन् ।
लायन्स तथा लियो क्लब अफ विराटनगर गोग्राहा, विराटनगर महानगर र न्युलाईफले संयुक्त रुपमा आगामी साउन १६ गतेसम्म नियमित महानगरका विभिन्न भागहरु निर्मलीकरण गर्ने भएका हुन । नगर प्रमुख भीम पराजुली र प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले शुभारम्भ गर्नुभएको सो अभियानको आज पहिलो दिन जिल्ला प्रशासन कार्यालय मोरङदेखि विराटनगर महानगरपालिकासम्मको क्षेत्रलाई निर्मलीकरण गरिएको छ ।
बिहीबारदेखि नियमित रुपमा दिनको साढे ४ बजे देखि बेलुकी ७ बजेसम्म महानगरको उच्च जोखिममा रहेको क्षेत्रहरुलाई निर्मलीकरण गर्ने योजना रहेको लायन्स क्लब अफ विराटनगर गोग्राहाका निवर्तमान अध्यक्ष चन्द्रमणि गुरागाँईले बताउनुभयो । क्लबले बिशेषगरि अस्पताल, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बजार क्षेत्र र क्वारेन्टाईन एरिया लगायतका बढी भीडभाड हुने सार्वजनिक स्थलहरुलाई लक्षित गरि निर्मलीकरण गर्ने लायन्स क्लब अफ विराटनगर गोग्राहाका संस्थापक अध्यक्ष तेजलाल कर्णले जानकारी दिनुभयो ।
तर क्लबसँग भएको स्यानिटाईजरले महानगरका विभिन्न सार्वजनिक स्थल तथा कार्यालयको बाह्य भागलाई मात्र निर्मलीकरण गर्न सकिने क्लबका निर्वतमान अध्यक्ष गुरागाँईले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘ हामीसँग २ सय ५० लिटरको ट्याङकीमा ३ प्रतिशत सोडियम हाईड्रोक्लोराईड भएको स्यानिटाईजर छ । यसले महानगरभित्रका सम्बन्धित ठाउँको बाहिरी भागलाई मात्र निर्मलीकरण गर्न मिल्छ । घर तथा कार्यालयको भित्री भागलाई निर्मलीकरण गर्न सोडियम हाईड्रोक्लोराईडको मात्रा १ प्रतिशत भएको स्यानिटाईजर चाहिन्छ ।’
क्लबले भने आवश्यकता अनुसार अभियानको अवद्यि थप गर्नसक्ने जनाएको छ ।