विराटनगर । एकै परिवारका १४ जनासहित २२ जनामा एकैदिन कोरोना संक्रमण देखिएपछि मोरङको रंगेली बजार मंगलबारदेखि शिल गरिएको छ ।
रंगेली नगरपालिकाले अर्को सूचना नहुन्जेलसम्मका लागि अस्पताल पनि पूर्ण रुपमा बन्द गरेको हो ।
एकै परिवारका १४ बाहेक नेपाल विद्युत प्राधिकरण रंगेली शाखाका ५ र अस्पतालका ३ कर्मचारीसमेत २२ जनामा सोमबार कोरोना पुष्टि भएको थियो । रंगेली बजारको पूर्वमा मधुवनी चोक र पिपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा नम्बर ६, ७ र ८ को एरिया सोमबार मध्यरातिदेखि अर्को सूचना प्रकाशित नहुन्जेल शिल गरिएको नगरपालिकाले जनाएको छ ।
रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले संक्रमितको सम्पर्कमा आएका झन्डै २ सय जनाको स्वाब परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । तत्काललको लागि रंगेली अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द गरिएको छ ।
यस्तै स्वास्थ्यसँग सम्बन्धित सेवाहरु बाहेक नगरपालिका तथा वडा कार्यालयहरुबाट दिइने सेवाहरु समेत मंगलबारदेखि अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । रंगेली बजारका एकै परिवारको १४ जनामा संक्रमण देखिएको संक्रमणको स्रोत पहिचान हुन नसकेको बताइएको छ ।


