किन कुटिए श्रम अधिकृत सञ्जेल ?

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई आफ्नै कार्यालयका दुई जना कार्यालय सहयोगी कर्मचारीले शनिबार कार्यकक्षमै कुटपिट गरेका छन् ।

कार्यालयका सहयोगी कर्मचारी नेत्रकुमारी भट्टराई र मेनुका कोइरालाले सञ्जेलमाथि कुटपिट गरेको मोरङ प्रहरीले जनाएको छ ।

सञ्जेललाई कुटपिट गर्नेहरू करारमा नियुक्त गरिएका कार्यालय सहयोगी हुन् । सञ्जेलले सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने गरेको र जिम्मामै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएर दुःख दिएपछि सहन नसकेर कुटपिट गरेको महिला कर्मचारीहरूले बताएका छन् ।

सञ्जेललाई टेबुलमाथि राखेको पेपर वेट, नेम प्लेट र पञ्चिङ मेसिनलगायतले प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ । कुटपिटबाट सञ्जेलको निधार, ओठ र हातमा चोटपटक लागेको छ ।

सञ्जेल भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा परिचित छन् । तर, उनको रुखो तथा अश्लिल बोलिबचनको भने आलोचना हुने गरेको छ । उनले सेवाग्राही र कर्मचारीलाई पनि अपशब्द बोल्ने र गालीगलौज गर्ने गरेका छन् ।

महिला कर्मचारीले कुटपिट गरेपछि शनिबार दिउँसो सञ्जेलले मोरङ प्रहरीमा जाहेरी दिएको बताउनुभयो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको बताउनुभयो । कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

शनिबारको घटनाका प्रत्यक्षदर्शी स्थानीय रेवतीप्रसाद अधिकारीका अनुसार सञ्जेल आइपुगेको केहीबेरमा नेत्र र मेनुका पनि कार्यालय प्रवेश गरेर चुक्कुल लगाएर कुटपिट गरेका थिए । सरकारी कार्यालयमाा हुने भ्रष्टाचार र घुसखोरीविरूद्ध संघर्षरत उपसचिव सञ्जेलललाई २०७५ असोज ११ गते श्रम कार्यालयको प्रमुखका रुपमा पठाएको थियो ।

केही दिनअघि कार्यालयको पानी तान्ने मोटर चोरी भएपछि सञ्जेलले कार्यालयका नासु निर्मलकुमार दाहालसहित केही कर्मचारीलाई स्पष्टिकरण सोधेका थिए । दाहलले चित्तबुझदो जवाब नदिएपछि दाहललाई सञ्जेलले कामबाट हटाएका थिए । त्यसपछि उनले चार जना करारका कार्यालय सहायकमध्ये दुई÷दुई जना गरेर पालो गरेर २४ घण्टे ड्युटीमा खटाएका थिए । दाहाल कुटपिटमा संलग्नमध्ये नेत्रकुमारीका बहिनीज्वाईँ हुन् ।

महिला कर्मचारीलाई २४ घण्टा नै ड्युटीमा लगाएको भन्दै कार्यालय सहायकहरु सञ्जेलसँग आक्रोशित थिए । सधैं कार्यालयका कर्मचारीलाई कामको विषयमा सञ्जेलले धेरै तनाव दिने गरेको उनीहरुको आरोप छ ।

आइतबार, १८ साउन, २०७७, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर