विराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालका चिकित्सक र गुद्री बजारका किराना पसल सञ्चालकलाई पनि कोरोना संक्रमण देखिएको छ ।
विराटनगर महानगरपालिकाका अनुसार न्यूरो अस्पतालको इमरजेन्सी वार्डमा काम गर्ने एक चिकित्सकमा संक्रमण देखिएको छ ।
ती चिकित्सक विराट नर्सिङ होममा पनि कार्यरत थिए । संक्रमित चिकित्सकलाई शुक्रबार नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । संक्रमितले काम गर्ने कक्ष सिल गर्न लगाएर उनीसँगको सम्पर्कमा आएका कर्मचारीलाई क्वारेन्टाइनमा बस्न लगाएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
न्युरो अस्पतालका डाइरेक्टर राजेश भट्टराईले विराटमा पनि काम गर्ने चिकित्सकले पाँच दिन अगाडि नै स्वाब परीक्षणमा दिएको जानकारी आपूmहरुलाई नदिएको कारण उनले न्युरोमा आएर काम गरेको बताउनुभयो । उनमा कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्षलाई निर्मलीकरण गरिएको र उनको सम्पर्कमा रहेका २० जनालाई होम क्वारेन्टाइमा राखिएको अस्पतालले जनाएको छ ।
यसअघि विराट नर्सिङ होमका सञ्चालक ज्ञानेन्द्रमानसिंह कार्कीलाई कोरोना देखिएपछि कन्ट्याक ट्रेसिङको आधारमा गरिएको परीक्षणमा अस्पतालका विरामी, कर्मचारी र स्वास्थ्यकर्मीसहित एक दर्जनमा कोरोना देखिएको छ । यस्तै विराटनगरको कोशी अस्पतालका चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडि बन्द गसिरएको छ । यस्तै म्याक्स अस्पतालमा पनि एक जनामा कोरोना देखिएको छ ।
शुक्रबार संक्रमण पुष्टि भएकामध्ये एक जना विराटनगरको गुद्री बजारमा किराना पसल सञ्चालन गर्ने व्यक्ति हुन् । ५२ वर्षीय संक्रमित पुरुषको किराना पसल गुद्री चोकमा छ । सञ्चालकलाई कोरोना संक्रमण पुष्टि भएपनि शुकबार दिउँसोसम्म उनको पसलमा भीड थियो ।
कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि शनिबारबाट विराटनगर महानगरपालिकाले १४ दिनका लागि लकडाउन गरेको भएपनि शनिबार कुनै नमुना संकलन भएन । यसअघि संकलन भएका करिब २५० नमुना परीक्षण नभएकोले शनिबार नमुना संकलन नगरिएको महानगरले जनाएको छ ।

