श्रमका हाकिम प्रेम सञ्जेलमाथि महिला कर्मचारीद्वारा कुटपिट

विराटनगर । श्रम कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई आफ्नै कार्यालयका कार्यालय सहयोगी कर्मचारीहरुले आज कार्यकक्षमै कुटपिट गरेका छन् ।

हरेक शनिबार कार्यालय जाने सञ्जेल शनिबार पनि कार्यालय पुग्नुभएको थियो । केही ढिला ११ बजेतिर कार्यालय पुगेका कार्यालय सहियोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

सञ्जेलले पटक पटक यौन दुव्र्यवहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने र जिम्मामै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएर दुःख दिएपछि सहन नसकेर कुटपिट गरेको महिलाहरुले बताएका छन् ।
महिला कर्मचारीहरुले कार्यालय प्रमुखको टेवलमा रहेको टेवल वेटले सञ्जेलमाथि प्रहार गरेका थिए भने हात र मुक्काले पिटेका थिए । कुटपिटबाट प्रमुख सञ्जेलको ओठ काटिएको छ भने टाउकोको विभिन्न भागमा चोट लागेको छ ।

घटनापछि प्रहरीले सञ्जेलसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा लगेको छ । कार्यालयमा दुवै पक्षबीच छलफल गराउने प्रयास भइरहेको छ । सञ्जेलले भने आफुलाई कार्यकक्षको ढोका थुनेर नियोजित आक्रमण गरी ज्यान मार्न खोजेको भन्दै ज्यान मार्ने उद्योगको जाहेरी दर्ता गराउने प्रयास गर्नुभएको छ । आज शनिबार भएका कारण जाहेरी दर्ता हुने सम्भावना कम छ ।

सञ्जेल भ्रष्टाचार विरोधी अभियानको अभियान्ताको रुपमा चिनिनुहुन्छ भने उहाँको खरो स्वभावले पनि धेरैलाई आक्रोशित तुल्याउने गरेका छन् । यस अघि पनि सञ्जेल माथि यौन दुव्र्यवहार गरेको अभियोग महिला कर्मचारीबाट लागेको थियो ।

शनिबार, १७ साउन, २०७७, दिउँसोको ०३:३१ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर