खोलाले बगाएका र फसेका तीन जनाको उद्धार

विराटनगर । खोलाले बगाउँदै गरेको र खोलाको बीचमा फसेको अवस्थामा तीन जनालाई प्रहरीले उद्धार गरेको छ । मोरङको केराबारी र लेटाङबाट तीन जनालाई जीवितै उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ ।

केराबारी गाउँपालिका –१० स्थित खदम खोलाले बगाउँदै गर्दा दुई जनालाई शुक्रबार साँझ जीवितै उद्धार गरियो । धनकुटा छिन्ताङ घर भई केराबारी–६ मा आफन्तको बस्दै आएका २४ वर्षीय रोशन राई र १९ वर्षीया ममता राईलाई खोला तर्न खोज्दा बगाएको थियो ।

खोला तर्ने क्रममा अचानक उर्लिएर आएको बाढीले बगाएर ५० मिटर जति तल पु¥याएपछि प्रहरी र स्थानीय बासिन्दाले सकुशल उद्धार गर्न सकेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो । उहाँका अनुसार खोला तरेर बीचमा पुगेपछि बाढी आएर अचानक बढेको पानीको बहावले दुवै जनालाई बगाएको थियो ।

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उनीहरुको उद्धार गरेका हुन् । त्यस्तै दाउरा खोज्ने क्रममा चिसाङ खोलाको बीच टापुमा फसेका एक जनाको पनि शुक्रबार साँझ जीवितै उद्धार गरिएको छ ।

लेटाङ नगरपालिका–३ का ४५ वर्षीय सन्तोष राईलाई सकुशल उद्धार गर्न सकिएको एसपी खड्काले बताउनुभयो । खोलाले बगाएर ल्याएको दाउरा बटुल्ने क्रममा उनी खोलाको बीचमा रहेको टापुमा फसेका थिए ।

दाउरा खोज्दै टापुमा पुगेपछि अचानक पानीको बहाव बढेपछि राई बाहिर निस्कन सकेका थिएनन् । फसेका टापुसहित खोलाले बगाउन लागेको देखेपछि प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उनलाई उद्धार गरेको हो ।

वर्षाको समयमा अत्याधिक वर्षा भएर बहाव बढ्ने र जोखिम धेरै हुने भन्दै खोला आसपासमा नजान प्रहरीले सबैलाई आग्रह गरेको छ । खोला आसपासमा जाने, बगाएर ल्याएको दाउरा बटुल्ने, पौडी खेल्ने, हिँडेर खोला तर्ने लगायतका काम गर्दा निकै जोखिम हुने भन्दै प्रहरीले सचेत हुन भनेको हो ।

एसपी खड्काले वर्खाका बेला खोला आसपासमा गएर लापरबाही र खेलाँचीपूर्ण तरिकाले गतिविधी गरेमा क्षति हुने भएको उक्त जोखिमबाट बच्न सावधानी अपनाउनुनै उत्तम हुने बताए ।

शनिबार, १७ साउन, २०७७, दिउँसोको १२:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर