विराटनगर । कोरोनाको त्रासको कारणले विराटनगरस्थित गोल्डेन अस्पतालको ओपीडीमा आएका विरामीलाई अन्यन्त्र पठाइएपछि उपचार नपाएर विरामी बिचल्लीमा परेका छन् ।
शुक्रबार अस्पताल आएका एक दर्जन बढी विरामीलाई गोल्डेन अस्पतालका चिकित्सकले ओपीडीमा नहेरेपछि बिचल्लीमा परेका हुन् ।
विराटनगर–१२ दरैयाका ६७ वर्षीय श्यामप्रसाद क्षेत्रीलाई बिहीबार राति खोक्दा रगत आएपछि शुक्रबार गोल्डेन हस्पिटल पुगेका थिए । तर, चिकित्सकले उपचार नगरेपछि समस्यामा परेको उनले बताए । ‘विगत ७ वर्षदेखि डाक्टर श्याम रौनियारलाई देखाउँदै आएको थिए,’ उनले भने, ‘शुक्रबार अस्पतालका चिकित्सकलाई देखाउन ओपीडीको पूर्जी काटेर देखाउन लाइनमा बसेपनि सुरक्षा गार्डले भित्र जान दिएनन् र कोरोनाको आशंका गर्दै अन्यन्त्र अस्पताल जानुभन्दै पठाइदिए ।’ आफूलाई कोरोनाको कुनै लक्षण देखा नपरेपनि अस्पतालले भित्र प्रवेश गर्न नदिएको उनको गुनासो छ ।
यस्तै विराटनगर १६ की अमृतादेवी मण्डलले छाती दुखेपछि गोल्डेन अस्पतालमा पुग्दा उपचार नपाएको बताउनुभयो । विगत ६ वर्षदेखि गोल्डेन अस्पतालका चिकित्सकसँग उपचार गर्दै आएकोमा शुक्रबार सहन नसक्ने गरी छाती दुखेपछि बुहारीको साथमा गोल्डेन अस्पताल गएकोमा अस्पतालले अन्यन्त्र पठाइदिएको उहाँको भनाइ छ ।
‘आमाको छाती र मुटु सारो दुखो भन्दै रुन थालेपछि हतारमा अस्पताल लिएर आए,’ बुहारी सपनाले भन्नुभयो, ‘अहिले हस्पिटल आइपुग्दा कोरोना परीक्षण गरेको रिपोट लिएर आए मात्र उपचार गर्छु भन्छ । आमा छाती दुखो भन्दै छट्पटाउनुहुन्छ, यहाँको अस्पतालले मेरो आमाको कुनै दुखेसो सुनेन । अब कहाँबाट कोरोनाको परीक्षण गर्नु ?’ गोल्डेनबाट श्यामप्रसाद र अमृतादेवी मात्र होइन, शुक्रबार एक दर्जन विरामी उपचार नपाई फर्कन बाध्य भएका छन् ।
सुनसरीको प्रकाशपुरका अक्षलाल उराउ पेटमा समस्या भएपछि छोरी ज्वाइलाई लिएर गोल्डेन अस्पताल आएकोमा उपचार नपाई फर्कनुपरो । एक हप्ताअघि गोल्डेन अस्पतालका फिजिसियन डा.श्याम रौनियारलाई देखाएको र शुक्रबार अस्पतालमा फलोअपमा आएकोमा उपचार नपाएको उहाँको भनाइ छ । ‘चिकित्सकको सल्लाह अनुसार शुक्रबार अस्पतालमा आएको थिएँ’ उहाँले चिकित्सकको पूर्जा देखाउँदै भन्नुभयो, ‘यहाँ आइपुग्दा अस्पतालभित्र प्रवेश गर्न नै एिन । अब कुन अस्पताल जानु ?’
अस्पताल पुगेका बिरामीलाई त्यहाँ नराखेर अन्यत्र पठाउनु अस्पतालले मानवता बिर्सेको विरामी श्यामलाई लिएका आएका आफन्त देशबन्धु ढकालले बताउनुभयो । ६÷७ वर्षदेखि डा.श्याम रौनियारलाई सानुबुवाले देखाउँदै आउनुभएकोमा अहिले विरामी भएर अस्पताल आउँदा अन्यन्त्र लैजा भन्दै पठाउनु अस्पतालले मानवता विरोधी भएको उहाँको भनाइ छ ।
सहज भएको बेलामा विरामीलाई ल्याउन तछाडमछाड गर्ने हस्पिटलले अहिले देश कोरोनाले गर्दा संकटमा परेको बेलामा उपचार गर्दिन भन्छ भने त्यस्ता हस्पिटल तुरून्त बन्द गरिनुपर्ने विरामी र आफन्तका भनाइ छ । हस्पिटलका प्रबन्धक महमद ज्याउलहकले दिनप्रतिदिन कोरोना संक्रमण फैलिरहेको अवस्थामा सावधानी अपनाएर हस्पिटलले सेवा प्रदान गर्दै आएको दाबी गर्नुभयो । ओपीडिमा आउने विरामीको स्क्रिनिङ्ग गरेर उपचार गर्न पठाउने गरेको उहाँको भनाइ छ ।