विराटनगरमा कडा लकडाउन हुने, उल्लंघन गर्नेलाई कारवाही

विराटनगर । विराटनगर महानगरपालिकाले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) पालना नगर्नेलाई कानून बमोजिम दण्ड जरिवाना गर्ने जिल्ला प्रशासन कार्यालय मोरङले तयारी गरेको छ ।

कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएकोले त्यसलाई रोकथाम तथा नियन्त्रण गर्न लकडाउनको निर्णय भएकोले उल्लंघन गर्नेलाई कानून बमोजिम कारवाही गर्ने मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिनुभयो ।

भाइरस संक्रमण रोकथामका लागि भिडभाड रोक्ने र अनावश्यक आवागमन नियन्त्रण जरुरी भएकोले महानगरले सबैसँग समन्वय गरेर लकडाउन गरेकोले गृह प्रशासनको तर्फबाट कार्यान्वयनका लागि पूर्ण सहयोग रहने प्रजिअ खड्काले बताउनुभएको छ । लकडाउन उल्लंघन गर्नेलाई संघीय सरकारले तोके अनुसारको कार्वाही गरिने उहाँले बताउनुभयो ।

लकडाउनको अवधिमा नगर क्षेत्रभित्र अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधन, बजार तथा पसल, उद्योग, व्यवसाय, नयाँ र पुरानो दुवै गुद्री बजार बन्द रहने महानगरपालिकाले जनाएको छ । लकडाउनको अबधिमा खाद्यान्न तरकारी, फलफुल, औषधि, दूध, पानी, अक्सिजन, इन्धन, बारुणयन्त्र, अस्पतालको बहरिंग बाहेकको सेवा, सरसफाईकर्मी, स्वास्थ्यकर्मी, सञ्चार, आइसीपीबाट हुँदै चल्ने मालबहालक सवारी साधन भने सामाजिक दुरी र स्वास्थ्य सुरक्षा पालना गरेर सञ्चालन हुनेछन् ।

महानगरपालिकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अनावश्यक हिडडुल नगर्न र सबैले घरमै बसेर सहयोग गर्न आव्हान गरेको छ । साथै स्वास्थ्य सुरक्षा सम्वन्धी सबै नियमहरुको पालना गर्न पनि महानगरले आव्हान गरेको छ ।

महानगरमा कोरोना संक्रमितको संख्या १०८ पुगेपछि लकडाउनको घोषणा गरिएको हो । लकडाउन शुक्रबार
राति १२ बजेबाट साउन ३० गते राति १२ बजेसम्म कायम हुने महानगरपालिकाले जनाएको छ ।

शुक्रबार, १६ साउन, २०७७, साँझको ०५:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर