काठमाडौं । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।
भारतीय नागरिक उनी मुटुसम्बन्धि समस्याबाट पीडित थिए । कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार सीईओको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।
लकडाउनको बेला जगदम्बा इन्टरप्राइजेजले भारतबाट लुकाइछिपाई मजदुर ल्याएर काम गराएको खुलेको थियो । जसको कारण सिईओसहित उद्योगमा कार्यरत ३ मजदुरलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले उद्योग शिल गरिसकेको छ ।
बिहीबार शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बिहीबार राति नै कोरोना अस्पतालमा अन्य दुई संक्रमितको पनि मृत्यु भएको छ । कोरोना संक्रमित वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नगवाका ३५ वर्षीय पुरुषको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा साँझ पौजे ८ बजेतिर मृत्यु भएको डा. निरज सिंहले जानकारी दिनुभयो । मंगलबार ज्वरो र श्वासप्रश्वासको समस्या भएर आएका उनलाई आकस्मिक कक्षमा भर्ना गरी स्वाब परीक्षणका लागि पठाइएको थियो । ती युवक ज्वरो आएपछि गत साउन ५ मा एक निजी क्लिनिकमा पुगेर १३ गते तराई हस्पिटल हुँदै कोरोना अस्पतालमा आएका थिए । मृत्युपछि बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
यसैगरी बिहीबार बिहान घरमै मृत्यु भएका वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । घरमै मृत्यु भएको खबर आएपछि नारायणी अस्पतालको टोलीले उनको स्वाब संकलन गरेको थियो । उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको कोरोना अस्पतालका डा.सिंहले बताए ।
साउनयता पर्सामा कोरोना संक्रमणले १० जनाको मृत्यु भइसकेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।