विराटनगर । कोरोना संक्रमित भएका व्यक्तिको मृत्यु भएपछि मोरङको सुनबर्षी नगरपालिकाले ८ नम्बर वडा तीन दिनका लागि शिल गरेको छ ।
वडाबासी ४५ बर्षिय संक्रमित व्यक्तिको उपचारका क्रममा धरानको बुधबार अपरान्ह विपी स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएको थियो ।
संक्रमितको मृत्युपछि सर्तकताका लागि सुनबर्षी नगरपालिकाले शनिबारसम्मका लागि ८ नम्बर वडा शिल गरेको हो । तीन दिनसम्म वडाबाट कसैलाई बाहिर जान र वडामा आउन नदिने गरि ८ नम्बर वडा शिल गरिएको सुनबर्षी नगरपालिका प्रमुख कालिप्रसाद दासले जानकारी दिनुभयो । तीन दिनसम्म संक्रमित व्यक्तिको परिवार र उनीहरुसँग सम्पर्कमा आएका व्यक्त्तिहरुको विवरण विश्लेषण गरेर आवश्यता अनुसार पिसीआरका लागि ‘स्वाब’ संकलन गरिनेछ ।
मृतकका आफन्तसहित उनलाई अस्पतालसम्म पुर्याउन खटिएका १० जनालाई अलग्गै क्वारेन्टाइनमा राखेर कन्ट्याक ट्रेसिङ गर्ने तयारी भइरहेको छ । ती पुरुषमा कोरोना पोजिटिभ देखापरेपछि उनको बस्ती वरपरका ४८ जनाको पीसीआर परीक्षण गरिएको र उनीहरुको रिपोर्ट आइनसकेको नगरपालिकाले जनाएको छ । सुनबर्षी नपाको ८ नम्बर वडामा १३ सय ७३ घरपरिवारमा ६ हजार ९ सय १२ जनाको बसोवास छ ।
मृत्यु भएका संक्रमित व्यक्त्ति दुई हप्ता अघि भारतबाट आएका थिए । उनकी पत्नीलाई पनि कोरोना संक्रमण देखिएको छ । उनलाई उपचारका लागि मोरङको सुन्दरहरैचा स्थित पुर्वाञ्चल विश्वविद्यालयको उपचार केन्द्रमा भर्ना गरिएको छ ।
१ सय १३ जना अझै क्वारेन्टाइनमा
सुनबर्षी नगरपालिकामा हालसम्म ८ सय ७ जना शंकास्पद व्यक्त्तिहरुलाई विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएको थियो । अझै १ सय १३ जना शंकास्पद व्यक्तिहरु क्वारेन्टाइनमा बसिरहेका छन् ।
भारतसँग सिमाना जोडिएको मोरङको सुनबर्षी नगरपालिका प्रदेश १ सरकारले कोरोनाको उच्च जोखिममा राखेको पालिका हो ।