विराटनगर । विराटनगरका ठूला अस्पतालले उपचार अस्वीकार गर्दा एम्बुलेन्सभित्रै मृत्यु भएका युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
उदयपुरबाट उपचारका लागि विराटनगर आए पनि भर्ना लिन नमान्दा एम्बुलेन्सभित्रै मृत्यु भएका उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईमा कोरोना भाइरस संक्रमण नरहेको पुष्टि भएको छ ।
राईको अस्पताल डुलाउँदा डुलाउँदै शुक्रबार दिउँसो एम्बुलेन्समै मृत्यु भएको थियो । कोरोनाको शंकास्पद भन्दै मृत्यु भएपछि स्वाब संकलन गरेर कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
तत्काल शंकास्पद देखिएका कारण उपचारका लागि भर्ना गर्न अस्पतालले नमानेको कारण उनको कोशी अस्पताल अगाडि मृत्यु भएको थियो । अवस्था गम्भीर रहेका बिरामीलाई कोशीमा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गर्ने तयारी हुँदाहुँदै मृत्यु भएको डा. दासको दावी छ ।
स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर शुक्रबार दिउँसो २ बजे विराटनगरको नोबेल मेडिकल कलेज लगिएका राईलाई अस्पतालले भर्ना नलिएपछि कोशी अस्पताल ल्याइएको थियो । कोशीले पनि भर्ना लिन नमानेपछि अस्पतालबाहिर एम्बुलेन्समै उनको मृत्यु भएको थियो ।
यसैबीच विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामा मृत्यु भएकी महिलाको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमणको आशंकामा सुनसरीको इनरुवा नगरपालिका–३ की ४० वर्षीया जंगलीदेवी सदालाई बिहीबार उपचारका लागि अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार मृत्यु भएको थियो ।
कोरोनाको लक्षण देखिएपछि परीक्षणका लागि स्वाब संकलन गरेर पठाएको भएपनि रिपोर्ट नआइ उनको मृत्यु भएको थियो । उनको पनि रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
रिपोर्ट नेगेटिभ आएपछि दुबै जनाको शवलाई अन्तिम संस्कारले लागि परिवारको जिम्मा लगाएको अस्पतालले जनाएको छ ।

