विराटनगर । मोरङको उर्लाबारीबाट पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका नेता नन्दबहादुर बोहरा ‘जोखिम’ लाई गैह्र कानूनी थुनामा राखेको भन्दै उच्च अदालत विराटनगरमा दर्ता भएको रिट खारेज भएको छ ।
जनमुक्ति सेना नेपालका पूर्व ब्रिगेड कमाण्डरसमेत रहनुभएका बोहरालाई असार ३१ गते घरबाटै पक्राउ गरी कसैलाई भेट्न र कानून व्यसायीको सम्पर्कमा समेत जान नदिई झुठा मुद्दा लगाएर गैरकानूनी थुनामा राखेको भन्दै श्रीमती टीकाकुमारी भट्टराईले दायर गर्नुभएको रिट निवेदन अदालतले खारेज गरेको हो ।
बोहरालाई हातहतियार खरखजना सम्बन्धी मुद्दामा अनुसन्धान गर्न प्रहरीले मोरङ जिल्ला अदालतबाट दोश्रोपटक सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल र गोली बरामद भएको भन्दै मुद्धा चलाउने तयारी गरेको छ ।
अदालतमा उपस्थित हुनुभएका बोहराले आफु नेकपा विप्लव समूहको समर्थक भएको तर कुनै गैरकानूनी र अपराधिक गतिविधिमा संलग्न नभएको जिकिर गर्नुभएको थियो । उहाँले प्रहरीलाई दिएको बयानमा पनि बरामद भएको भनिएको हतियार आफ्नो नभएको र पक्राउ परेको तीन दिनपछि प्रहरीले जबरजस्ती हतियार बरामदी मुचुल्कामा सही गर्न लगाएको भनी इन्कारी बयान दिनुभएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटको पक्षमा अधिवक्ता हरि फुँयलले बहस गर्नुभएको थियो । उच्च अदालत विराटनगरका न्यायाधीशहरु प्रेमराज कार्की र महम्मद जुनैद आजादको संयुक्त इजलासले रिट खारेज गरेको हो ।