लोड हुँदैछ...

मेनु

संक्रमित व्यक्ति चिकित्सक रहेको खुलेपछि विराट नर्सिङ होम शिल

संक्रमित व्यक्ति चिकित्सक रहेको खुलेपछि विराट नर्सिङ होम शिल

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ्ग होममा कार्यरत एक जना चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि बिहीबार अनिश्चितकालको लागि अस्पताल बन्द गरिएको छ ।

अर्को निर्णाय नभएसम्मको लागि विराट नर्सिङ्ग होम शिल गरिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

बिहीबार कोरोना संक्रमित पुष्टि भएका व्यक्ति अस्पतालका सञ्चालकसमेत रहेका चिकित्सक रहेको खुलेपछि अस्पताल शिल गरिएको हो । संक्रमित चिकित्सकको सम्पर्कमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ सुरू गरिने महानगरले जनाएको छ । ‘कन्ट्रयाक टेसिङ्गदेखि अस्पताल पूरै सेनिटाइज गरिनुपर्ने हुन्छ,’ जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले भन्नुभयो, ‘अर्को निर्णाय नभएसम्म अस्पताल शिल गरिएको हो ।’

अस्पतालमा भर्ना भएका सम्पूर्ण विरामी र संक्रमितको सम्पर्कमा रहेकाहरुको पनि स्वाब संकलन गरिनेछ । कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार रातिदेखि सम्पर्कविहीन बनेका संक्रमितलाई बिहीबार दिउँसोे ११ बजे सम्पर्कमा आएको महानगरले जनाएको छ । संक्रमण पुष्टि भएको ३८ घण्टापछि विराटनगर महानगरपालिको सम्पर्कमा आएको जन– स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ ।

संक्रमित चिकित्सकको अस्पतालबाट स्वाब संकलन गरेर कोशी अस्पतालको ल्याबमा लगिएको थियो । नाम र ठेगाना नखुलाई स्वाब संकलन गरी पठाएकोले पिसिआर प्रविधिबाट गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएपनि उनको पहिचान हुन सकेको थिएन ।

स्वाब संकलनको क्रममा उनको पूरा नाम र प्रष्टसँग ठेगाना र सम्पर्क नम्बर पनि गलत टिपाएको कारणले संक्रमित फेला पार्न समस्या भएको थियो । संक्रमित सम्पर्कबिहीन बनेपछि मोरङ प्रहरी र महानगरपालिकाले खोजी कार्य तीव्र बनाएको थियो । ‘सम्पर्कविहीन बनेका संक्रमितलाई खोज्न प्रहरी र महानगरपालिकाले निक्कै मेहनत गर्नुप¥यो,’ जनस्वास्थ्थ महाशाखा प्रमुख कार्कीले भन्नुभयो, ‘बिहीबार दिउँसो साढे ११ बजे संक्रमित आफैले फोन गरि महानगरपालिकाको सम्र्पकमा आएका छन् ।’

मंगलबार अस्पतालका सञ्चालकमध्येका एक ६५ वर्षीय चिकित्सकको स्वाब संकलन गरिएको थियो । तर, कोरोना जाँचका लागि उमेर ५० वर्ष र नाम र ठेगाना अर्कै लेखाइएको थियो । स्वाब संकलनका क्रममा नाम हरिबहादुर कार्की लेखिएको थियो । मोबाइल नम्बर धनकुटामा कार्यरत एक प्रहरीको थियो ।

बुधबार स्वाबको नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपनि गलत नाम र फोन नम्बर लेखिएको कारण पहिचान हुन सकेको थिएन । उनको खोजीमा ठूलो मेहनत गरेका प्रहरी र महानगरका कर्मचारीले धेरै सास्ती बेहोरेका थिए । बिहीबार दिउँसो भने उनी आफैं महानगरको सम्पर्कमा पुगेका थिए ।

संक्रमितलाई अस्पताल प्रशासनले लुकाएको पाइएपछि कारबाही अघि बढाउन प्रक्रिया थालिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताउनुभयो । अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको कुरा बाहिरिएमा बिरामी नआउने र अस्पताल नचल्ने तथा बन्द गर्नुपर्ने स्थिति हुने संक्रमित व्यक्तिको पहिचान लुकाउने प्रयास भएको थियो ।

यसैबीच संक्रमित पुष्टि भएका चिकित्सक बिहीबार दिउँसोसम्म होम आइसोलेनसमा रहेको विराटनगर महानगरपालिकाले जनाएको छ । होम आइसोलेसन मापदण्ड अनुसार रहनपाउने भएकोले उनलाई घरमै बस्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।