प्रदेश १: १३ संक्रमित थपिए, १० जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहीबार थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मोरङमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ ।

प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचाररत १० जना पुरुष डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय २३ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ५ सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ । परिक्षण गरिएकामध्ये १३ जनाका रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । अहिलेसम्म ३८ हजार १ सय ३५ जनाको कोरोना परीक्षण गरिएको डा.मेहताले बताउनुभयो ।

बिहिबार, ०८ साउन, २०७७, दिउँसोको ०४:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर