बाढी पहिरो, डुवान र गोर्खा सैनिकको भत्ताबारे सरकारको ध्यानाकर्षण

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठकमा सांसदहरुले बाढी पहिरो र डुवानबाट उत्पन्न समस्या तथा भुतपुर्व गोरखा सैनिकहरुले पाईरहेको सामाजिक सुरक्षा भत्ता कटौतीको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

पुर्व गोर्खा सैनिकहरुले पाउने सामाजिक सुरक्षा भत्ता कटौती गर्ने संघीय सरकारको निर्णय खारेज गर्नुपर्ने मागलाई केही दिनदेखि प्रदेशसभा सदस्यहरुले उठाउँदै आएका छन् ।

बिहीबार प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै नेकपा सांसद उमिता विश्वकर्माले सरकारले वृद्धभत्ता कटौती गरेर विभेद गरेको भन्दै उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशमा बसेर पनि नेपाल र नेपालीको सेवा गर्नुभएका गोरखा सैनिकहरुले पाईरहनुभएको वृद्ध भत्ता कटौती गरेर विभेद गर्नुहुँदेन ।’

सांसद गोपालचन्द्र बुढाथोकीले झापाको क्षेत्र नं. १ अन्तर्गत बुद्धशान्ति गाउँपालिकाको वार्ड नं. ७ स्थित सुनवाई भन्ने ठाउँमा गत साउन ५ गते अविरल बर्षाका कारण आएको पहिरोमा परि प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्र्तगत निर्माण गरिएको घरका ६ जना सदस्यहरुमध्ये २ जना गम्भीर घाईते भएको र सोही घरमा पाहुना बस्न आएका निजका १६ बर्षीय भान्जा बिबेक बिकको घटनास्थलमै मृत्यु भएको जानकारी गराउनुहुँदै क्षतिपुर्तिका प्रदेश सरकारसँग माग गर्नुभयो । उहाँले धान रोपाई अन्तिम चरणमा हुँदा किसानहरुलाई समयमै खाद्यमल उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद यशोदा अधिकारीले देशमा मौलाउँदै गएको भष्ट्रचारलाई नियन्त्रण गर्न तथा प्रदेशबासीलाई सुशासनको अनुभुति दिलाउन प्रदेश सरकारको दीर्घकालीन योजना माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बजारमा बिक्रि वितरण भईरहेका मास्क तथा सेनिटाईजर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार छ वा छैन भनी प्रदेश सरकारले अनुगमन गर्नुपर्ने बिषयमा जोड दिनुभयो ।

सांसद राजकुमार ओझाले ४० जना क्षमता भएको बालसुधार गृहमा १ सय ३० देखि ४० जनासम्म राखिएको विषय औल्याउँदै त्यसको व्यवस्थापनमा ध्यान पुर्याउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । सांसद बसन्त कुमार बानियाले नेपालकै होचो भु–भागको रुपमा रहेको झापाको कचनकवल गाउँपालिका अधिकांश भाग सीमानामै रहेको मेची नदीको जलस्तर बढेसँगै डुबानमा परेको जानकारी गराउनुभयो । उहाँले प्रदेश सरकारको जनता आवास कार्यक्रमको कार्यविद्यिलाई परिवर्तन गरेर त्यस क्षेत्रमा बसोबास गर्ने गरिब, निमुखा तथा आदिवासी जनजाति समुदायका नागरिकका लागी सुरक्षित ढङ्गले आवास निमार्ण गरिदिन प्रदेश सरकारसँग माग गर्नुभयो ।

प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको अर्को बैठक भने साउन ९ गते शुक्रबार दिनको ११ः३० बजे बस्नेछ । सो दिन नेताहरुको सम्बोधनपछि अधिवेशन अन्त्य हुनेछ ।

बिहिबार, ०८ साउन, २०७७, दिउँसोको ०४:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर