विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित गछिया खोलाबाट अवैद्य रुपमा ढुङ्गागिट्टी तथा बालुवा उत्खननमा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले खोला उत्खननमा संलग्न मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ६ का २३ बर्षीय खेमराज रिजाल र वडा नं. ७ का ३० बर्षीय प्रताप गुरुङलाई नियन्त्रणमा लिएको हो । खोला उत्खनन गरिरहेको फेला पारी को १ क २३१७ नम्बरको जेसीबी चालक रिजाल र को १ क २४७१ नम्बरको जेसीबी चालक गुरुङलाई नियन्त्रणमा लिईएको मोरङ प्रहरीका प्रवक्ता लोकदर्शन थापाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रधान नायब निरीक्षकको टोलीले उनीहरुलाई बुधबार दिउँसो करिब साढे ३ बजे खोला उत्खनन् गरिरहेको अवस्थामा को १ ख ५१०९ नम्बरको टिपर सहित नियन्त्रणमा लिएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।
त्यस्तै मोरङ प्रहरीले बुधबार दिउँसो करिब साढे ४ बजे सुन्दरहरैंचा–६ स्थित गछिया खोलाबाट अवैद्य ढुङ्गा गिट्टी लोड गर्दै गरेको अवस्थामा को १ त ८७३० नम्बरको ट्रयाक्टरसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका २२ बर्षीय आशिष परियार रहेका छन् ।
नियन्त्रणमा लिईएको सवारीसाधन र चालकलाई गछिया प्रहरी चौकीमा ल्याई आवश्यक कारबाहीका लागी जिल्ला समन्वय समितिको कार्यालय मोरङमा बुझाउने प्रहल भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।