काठमाडौं। वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मंगलबार मृत्यु भएको हो ।
श्वासप्रश्वासको समस्या देखिएपछि सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा कोरोनाको शंका लागेपछि गण्डक अस्पताल लगिएको थियो । अस्पतालमा मृत्युपछि उनको स्वाब संकलन गरेर नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको हो ।
वर्णवालमा मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिनुभयो । मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको बताइएको छ ।
एडभान्स अस्पतालमा मात्रै ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।