विराटनगर । प्रदेश १ मा कोरोना संक्रमित भएकाहरूमध्ये ७१ प्रतिशत भारतबाट आएका नेपालीहरू रहेको पाइएको छ । प्रदेश १ मा मंगलबारसम्म ८ सय २२ जनामा कोरोना संक्रमण देखिएकोमा ५ सय ८४ जनामा भारतबाट आएका नेपाली हुन् ।
त्यसबाहेक १७ प्रतिशत अथात १३३ तेस्रो मुलुकबाट आएकाहरु रहेको पाइएको छ । प्रदेशमा विदेशको यात्रा नभएका ५१ जना स्थानीमा अहिलेसम्म कोरोना देखिएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार ५४ जना संक्रमितको कन्ट्रयाक ट्रेसिङको क्रममा रहेका छन् । अहिलेसम्म कुवेतबाट आएका ४९ जनामा संक्रमण देखिएको छ । यस्तै ओमनबाट आएका ७, कतारबाट आएका ११, साउदीबाट आएका ४० जनामा कोरोना संक्रमण पाइएको छ । प्रदेशमा दुबईबाट आएका १२, बराइनबाट आएका ७, मलेसियाबाट आएका ३, माल्दीप्सबाट आएका २ र पाकिस्तानबाट आएका १ जनामा कोरोना सक्रंमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सुनसरीको धरानका ४ पुरुष, मोरङको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको शिवसताक्षीमा १ पुरुष छन् । को कोरोना रिपोर्ट पोजेटिभ आएको छ । ३ जना डिस्चार्ज भएका छन् । बुधबारसम्म प्रदेशमा ८ सय ३५ जना संक्रमण पोजेटिभ देखिएकोमा ७ सय १३ जना कोरोना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । अहिले प्रदेश १ को विभिन्न आइसोलेनमा १ सय २२ जना उपचारत छन् ।
प्रदेश १ मा हालसम्म २ जनाको कोरोनाबाट मृत्यु भएको छ । सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानको आइसोलेशनमा उपचार गराइरहेका सप्तीका एक जना र महोत्तरीका एक जनाको मृत्यु भएको हो ।
प्रदेशमा बुधबारसम्म ३६ हजार ७ सय ६६ जनाको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ८ सय ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३५ हजार ९ सय ३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमित भएकाहरुको उपचारका लागि ७ वटा आईसोलेसन केन्द्रहरु रहेका छन् ।
नेपालमा अहिलेसम्म देखिएको संक्रमणको अवस्था हेर्दा अधिकांश भारतबाट आएको पाइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश महेताले जानकारी दिनुभयो । ‘न्यून संख्यामा संक्रमण स्थानीयमा देखिन्छ,’ उहाँले भन्नुभयो, ‘भारतमा जति पत्ता लागेको छ, त्यसको तुलनामा त्यहाँ संक्रमितको संख्या धेरै कम रहेको छ । प्रदेश १ मा देखिएको संक्रमित जति छन्, त्यसको ठूलो हिस्सा आयातित हो भन्नेमा त दुईमत रहेन । तिनैबाट केही स्थानीय स्तरमा फैलिएको थियो । त्यो अहिले नियन्त्रणमा आएको छ ।’
क्वारेन्टिन बस्नेको संख्या घट्दै
१४ जिल्ला रहेको प्रदेश १ मा ८ सय ८७ वटा क्वारिन्टन निर्माण गरिएको छ । सो क्वारेन्टिनमा २१ हजार ६ सय ८२ जना रहेकोमध्ये अहिले बस्नेको संख्या घट्दै गएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार बुधबार बिहानसम्म २ हजार ४३ जना क्वारेन्टिनमा रहेका छन् ।
भारत र तेस्रो मुलकबाट आएकाहरूलाई क्वारन्टिनमा राख्ने गरिन्छ । प्रदेश प्रहरीले दिएको जानकारी अनुसार भारतबाट आउनेभन्दा जाने बढिरहेको छ । प्रदेश १ को चार नाकाबाट १९ हजार १ सय १३ जना आए भने सोही नाका हुँदै नेपालबाट २८ हजार १ सय १३ जना गएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दिपक पोखरेलले जानकारी दिनुभयो ।
समुदायमा परीक्षणको तयारी
प्रदेश १ मा क्वारेन्टाइनमा रहेकाहरूलाई मात्र कोरोना देखिएकोले अब समुदायस्तरमा गएर कोरोना परीक्षण गरिने भएको छ । प्रदेश सरकारले नमूनाका रुपमा समुदायस्तरमा पनि कोरोना परीक्षण गर्ने तयारी गरेको हो । प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले नमूनाका रुपमा समुदाय स्तरमा पनि परीक्षण गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
‘क्वारेन्टाइनमा मात्र हैन समुदायमा पनि नमूनाका रुपमा परीक्षण गर्न आवश्यक देखिएको छ’ मन्त्री घिमिरेले भन्नुभयो, ‘यसको तयारी प्रदेश सरकारले अब थाल्नेछ ।’ कोरोना उपचार केन्द्र र क्वारेन्टाइनबाट डिस्चार्ज भएकाहरुको परिवार र आसपासका स्थानहरुको छनौट गरेर नमूनाका रुपमा परीक्षण गर्ने मन्त्री घिमिरेले बताउनुभयो ।
परीक्षणको दायरा बढाउनका लागि माग बढिरहेकाले समुदाय स्तरमा पनि परीक्षण गर्न लागिएको हो । ‘क्वारेन्टाइनमा रहेका, कन्ट्याक्ट ट्रेसिङका आधारमा र कोरोना उपचार केन्द्रमा भर्ना भएकाहरुको नेगेटिभ रिपोर्ट नआउँदासम्म परीक्षण गर्ने काम भइरहेको छ’ मन्त्री घिमिरेले बताउनुभयो ।