प्रदेशसभाबाट एकैदिन तीन विधेयक पारित

विराटनगर । प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको बुधबार बसेको बैठकले एकैसाथ ३ वटा विधेयक पारित गरेको छ ।

प्रदेशसभा बैठकले बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७, प्रदेश औद्योगिक व्यावसायका सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७७ र प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न विधेयक पारित गरेको हो ।

प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैत र भौतिक पुर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले प्रस्ताव गरेका विधेयकहरु पारित भएको हो । सबै बिधेयक सर्वसम्मतिले पारित भएका छन् ।

यसअघि शुन्य समयमा बोल्दै सांसद खिनु लङ्बा लिम्बूले भुतपुर्व गोरखा सैनिकहरुले पाईरहेको सामाजिक सुरक्षा भत्ता र ज्येष्ठ नागरिक भत्ता गत असार १७ गतेदेखि नेपाल सरकारले कटौती गरेको विषय आपत्तिजनक रहेको बताउनुभयो । उहाँले हाल सैनिकहरुले पाईरहेको पेन्सन ब्रिटिस र भारत सरकारमार्फत प्राप्त भईरहेको जानकारी गराउँदै यसप्रकारको निर्णय तत्काल खारेज गर्न संघीय सरकारसँग आग्रह गर्नुभयो ।

त्यस्तै सांसद जयराम यादवले प्रदेश नं. १ मा हालसम्म ८१ प्रतिशत रोपाई सम्पन्न भईसक्दा पनि किसान वर्गले आफ्नो धान तथा कृषिबालीमा छर्नका लागि युरिया मलको अभाव झेलिरहनु परेको बताउनुभयो । उहाँले अबिलम्ब खाद्य मलको अभाव पुर्ति गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै सांसद सन्जाकुमारी दनुवारले कोभिड–१९ को रोकथाम तथा न्युनीकरणका लागि अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा उल्टै २५ प्रतिशत तलब कटौती गर्ने बिषय खेदजनक भएको बताउनुभयो ।

प्रदेशसभाको अर्काे बैठक भने बिहीबार दिनको १ बजेका लागी बोलाईएको छ ।

बुधबार, ०७ साउन, २०७७, साँझको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर