छात्रामाथि यौन दुर्व्यवहार : अदालत परिसरमा पीडित पक्षको प्रदर्शन

मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई जना छात्रालाई ‘बालयौन दुव्र्यवहार’ गरेको आरोपमा पक्राउ परेका ४१ वर्षीय मोलबी अमिरुदिन भन्ने महमद अमिर मियाँ विरूद्ध अदालतमा मुद्दा दर्ता

विराटनगर । दुई जना बालिकालाई ‘बाल यौन दुव्र्यवहार’ गरेको आरोपमा पक्राउ विराटनगर–८ अशोक चौकमा रहेको मदरसाका मोलबी (प्रधानाध्यापक) विरूद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ ।

मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई जना छात्रालाई ‘बालयौन दुव्र्यवहार’ गरेको आरोपमा पक्राउ परेका ४१ वर्षीय मोलबी अमिरुदिन भन्ने महमद अमिर मियाँ विरूद्ध अदालतमा मुद्दा दर्ता भएको हो । पक्राउ परेका अमिर सोही मदरसका मोलबी हुन् ।

प्रहरी हिरासतमा रहेका अमिरको मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले हिंजो मोरङ अदालतमा मुद्दा दर्ता गरेको हो । ‘बाल यौन दुव्र्यवहार’ मुद्दामा अदालतमा अभियोग दर्ता भएपछि मंगलबारदेखि बयान सुरू भएको अदालतमा श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिनुभयो ।

मोलबीले अमिर विरूद्धले गत माघ ७ र माघ ८ गते गरि मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । छात्राहरूले मोलबी विरुद्ध मोरङ प्रहरीमा जाहेरी दर्ता गराएपछि फरार भएका थिए । घटना भएको ६ महिनापछि यौन दुव्र्यवहार आरोप लागेको मोलवी अमिर मोरङ प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्धिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ । माघ ८ गते बुधबार, यौन दुव्र्यवहार भएपछि पीडित छात्रा भोलिपल्ट मदरसा जान मानेकी थिइनन् । उनकी आमाले मदरसा जानैपर्ने जोड गरेपछि पीडित बालिकाले आफ्नी आमालाई मोलवीले गरेको दुव्र्यवहारको विषयमा जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

मोलवी अमिरुद्धिले यसअघि गएको माघ ७ गतेसमेत आफ्नै मदरसामा अध्ययनरत अर्की एक १४ वर्षीय छात्रालाई समेत यौन दुव्र्यवहार गरेको आरोप छ ।

दैनिक ६ बजेदेखि ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरुद्धिनले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुव्र्यवहार गरेको अभियोग पत्रमा उल्लेख छ । २०६४ सालदेखि सो मदरसामा अध्यापन गराउँदै आएका मोलवी अमिरुद्धिनले छात्राहरुलाई यसअघि पनि पटक–पटक यौन दुव्र्यवहार गर्दै आएको स्थानीयको भनाइ छ ।

तीन वर्ष कैद र ३० हजार जरिमानाको मागदाबी

कसैले बालयौन दुरूपयोग गर्न वा गराउन हुँदैन । कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरूपयोग गरेको मानिने छ ।
यो प्रकरणमा मोलवी अमिरुदिनले दुई जना छात्रालाई बालयौन दुव्र्यवहार गरेको ठहर भए मुलुकी अपराध संहिता २०७४ को दफा २२५ को उपदफा (१) र (२) बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवना हुने कानूनी व्यवस्था छ । सोही कानूनी व्यवस्था अनुसार सरकारी वकिलको कार्यालयले उक्त मागदावीसहित मोरङ अदालतमा अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला सहायक न्यायाधिवक्ता मुकुन्दकुमार रेग्मीले जानकारी दिनुभयो ।

पीडकलाई कारवाहीको माग गर्दै प्रर्दशन

बाल यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका अभियुक्त महमद अमिर मियाँलाई हदैसम्मको कारबाहीको माग राख्दै पीडित परिवार र आफन्तले अदालत परिसर बाहिर प्रर्दशन गरेका छन् । उनीहरूले बालयौन दुव्र्यहार गर्नेलाई कडा कारबाही गर, दोषिलाई उन्मुक्ति दिन पाइँदैन, पीडित बालिकालाई न्याय दिउँ लगायतको प्लेकाडसहित प्रर्दशन गरेका हुन् ।

मङ्गलबार, ०६ साउन, २०७७, दिउँसोको १२:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर