विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ मोरङले कृषकलाई कृषि उपकरण वितरण गरेको छ ।
परियोजनाले सोमबार विराटनगर कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरि मोरङको रतुवामाइ नगरपालिका–८ स्थित रुपान्तरण कृषि सहकारीलाई कष्टम हाइभेस्टर र साना उपकरण हस्तान्तरण गरेको हो ।
परियोजनाले सहकारीलाई ८९ लाख ९७ हजार मूल्य बरावरको कृषि उपकरणहरु हस्तान्तरण गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई विराटनगरका वरिष्ठ कृषि अधिकृत विनोदकुमार मण्डलले जानकारी दिनुभयो । सहकारीलाई १ थान कष्टम हार्भेस्टर, २ थान ट्याक्टर, ४१ थान डिजिटल तराजु, ५९ थान पिएच मिटर, ६ थान एरिएटर र १६ वटा मोर्टर माछाका कृषकहरूलाई वितरण गरेको हो ।
परियोजनाले वितरण गरेको उपकरणको चाबी प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री रामबहादुर मगरले रुपान्तरण कृषि सहकारीका अध्यक्ष गणेश उप्रेतीलाई हस्तान्तरण गर्नुभयो । सो सहकारीमा करिब ५ सय कृषक आवद्ध छन् । सहकारीमा आवद्ध भएका कृषकले प्रयोग गरेको उपकरणमा २५ प्रतिशत छुटको व्यवस्था गरिने सहकारीका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।
अध्यक्ष उप्रेतीले यन्त्रिकरणको प्रयोग गरि उत्पादन बढाएर बजारीकरणमा राज्यले उचित व्यवस्थापन गरिदिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राज्यमन्त्री मगरले प्रविधिको उचतम प्रयोग गरि कृषि पेशालाई आधुनिकरण गरिनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले कृषि क्षेत्रलाई वृहतर प्याकेज क्षेत्र बनाएर संचलान गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ विराटनगरका वरिष्ठ कृषि अधिकृत विनोदकुमार मण्डलले खेतीमा आधुनिकीकरण तथा यान्त्रीकरणमार्फत उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । मण्डलका अनुसार परियोजनाले आर्थिक वर्षमा ८४.३६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । गत आर्थिक वर्षमा ५ करोड २४ लाख ५३ हजार बिनियोजित बजेटमध्ये ४ करोड २२ लाख २६ हजार रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा धान जोनका संयोजक द्रोण पौडेलले किसानहरूले उत्पादनको मूल्य सुनिश्चिता गरिनुपर्ने बताउनुभयो । संघीय र प्रदेश सरकारले दिने अनुदानमा एक रूपता हुनुपर्नेमा जोड दिनुभयो ।