विराटनगर । मोरङको तरकारीको पकेट क्षेत्र मानिने कटहरी, जहदा र धनपालथान गाउँपालिकामा किसानले लगाएको करडौंको तरकारी बाली लगातारको वर्षाले नष्ट गरिदिएको छ । किसानले लगाएको काँक्रो, खोर्सानी, बैगुन, लौका, बोडीलगायतका तरकारीको बोट पानीले नष्ट पारेको हो ।
लगातार परेको पानीले तरकारीको बोट नै नष्ट पारेपछि कटहरी, जहदा र धनपालथानका किसानहरू चिन्तित बनेका छन् । किसानले लगाएको तरकारीको फल फल्न लागेको र फूल फुल्दै गरेको बोट नै नष्ट भएपछि वर्षदिनको कमाई माटोमा मिलेको कटहरी गाउँपालिका ४ का कृषक कोपिन्द्र सिंहले दुःखेसो सुनाउनुभयो ।
बारीमा लगाएको तरकारी पानीले नष्ट गरेपछि आफ्नो वर्ष दिनको कमाई खेर गएको सिंहको भनाइ छ । उहाँले साढे १ बिघा क्षेत्रफलमा लगाएको तरकारी बाली नष्ट भएको जानकारी दिनुभयो । १० कठ्ठा क्षेत्रफलमा लगाएको लौका, ६ कठ्ठाको खोर्सानी र ४ कठ्ठामा लगाएको काक्र पूर्ण रुपमा नष्ट भएको उहाँको भनाइ छ ।
‘फुल खेल्न थालेको काक्रोको बोट पानी पस्दा मर्न थालेको छ । खेतभरी जलमग्न भएको पानीले भेन्टाको बोट पनि सुक्न थालेको छ’ सिंहले भन्नुभयो । बैंकमा ऋण काटेर गरिएको तरकारी खेतीले यस पटक आम्दानी लिन नसक्दा ऋणको बोजले थला पर्ने अवस्था बनेको उहाँको भनाइ छ । लकडाउनको कारण केही समय अगाडि तरकारी विक्री हुन नपाउँदा खेतमै गोलभेडा कुहिएर खेर गएको थियो । पानीले अहिले करिब ४ लाखको तरकारी नष्ट गरेको उहाँको भनाई छ ।
कटहरीमा मात्र नयाँबजार कृषि सहकारी संस्थामा आवद्ध भएर व्यवसायी रुपमा तरकारी खेती गर्ने कृषक एक सय जना छन् । केही दिनयताको वर्षाले कटहरीका कृषकले लगाएको करिब लाखौंको तरकारी नष्ट गरेको छ । जहदामा र धनपालथानमा पनि तरकारी नष्ट भएको छ ।
जहदा गाउँपालिका ४ राजेशकुमार मुखियाले १० कठा क्षेत्रफलमा लगाएको काक्रा, लौका वर्षाले नष्ट गरेको छ । लामो समयदेखि जग्गा लिजमा लिएर व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानहरु अहिले समस्यामा परेका छन् ।
राज्यले वितरण गर्ने तरकारीमा भएको क्षतिको राहत पनि नपाएको कृषकहरूले बताएका छन् । ‘तरकारी नष्ट हुने किसानलाई प्रदेश सरकारले राहत बाढ्ने भन्ने गरेको सुनेको हो,’ मुखियाले भन्नुभयो, ‘खै कहाँ कस्ता कृषकलाई राहत बाढछन् ? । हामीले अहिलेसम्म कही कतैबाट राहत पाएका छैनौं ।’ आफूले लगाएको बाली सबै नष्ट भएकाले स्थानीय सरकारले वीउ मात्रै उपलब्ध गराए केही राहत मिल्ने उहाँको भनाई छ ।