विराटनगर । मोरङको केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीमाथि कार्यालयमै खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट प्रमुख कार्की घाइते हुनुभएको छ । घाइते कार्कीको विराटनगर स्थित नोवल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बिहान कार्यालय प्रवेश गर्ने बितिकै प्रमुख कार्कीमाथि केराबारी १० का भवन ठकुरीले खुकुरी प्रहार गरेका हुन् । उपप्रमुखको कार्यकक्षमा प्रवेश गरेर आफ्नो कार्यकक्ष तर्फ जाँदैगर्दा ठकुरीले सुरक्षा गार्डको खुकुरी खोसेर प्रमुख कार्कीको टाउकोमा प्रहार गरेका थिए । खुकुरी प्रहारबाट प्रमुख कार्कीको टाउकोमा दुई ठाउँमा चोट लागेको छ । उहाँको पेटमा छुरी पनि हानिएको छ । साथै उहाँको हातमा पनि चोट लागेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनालगतै खुकुरी प्रहार गर्ने ठकुरीलाई पक्राउ गरेको छ । ठकुरी ठेक्कापट्टामा संलग्न व्यक्ति हुन् । विगतदेखि नै गुण्डागर्दी गर्दै आएका उनी ट्रिपर, ट्रयाक्टरका सञ्चालक पनि हुन् । केराबारीका प्रमुख कार्की त्यहाँका क्रसर व्यवसायी हुन् । क्रसर व्यवसायी र ढुवानी तथा ठेक्का कारोवारमा संलग्न दुईबीच आपसी लेनदेन र कारोवारको विवाद भएकै कारण घटना भएको आशंका गरिएको छ । गत स्थानीय निर्वाचनमा ठकुरीले कार्कीकै पक्षमा प्रचार गर्दै युवाहरु परिचालन गरेका थिए ।