विराटनगर । विराटनगर महानगरपालिकाका बाढीपीडितले भूजा र चिउरामा भोक टार्न बाध्य भएका छन् । केसेलिया खोलामा आएको बाढी विराटनगर १६ दरैया र विराटनगर १२ को सिमराइ बस्तीका पस्दा ९५ घर डुवानमा परि बिस्थापित भएका ४ सय ९५ जना बाढीपीडित चिउरा र भूजामा भोक टार्न बाध्य भएका हुन् ।
विराटनगर – १७ दरैयाबस्तीकी ४५ भुटनीदेवी ऋषिदेवको घरमा कसेलिया खोलाको बाढी पसेर डुवानमा परेपछि मिल्स माविमा बस्दै आएकी छिन् । वर्षासँगै खोलामा आएको बाढी बस्ती पसेपछि ऋषिदेवसहित दरैया वस्तिका ६५ घर डुवानमा परेपछि यहाँका ३ सय जना अहिले विराटनगर १६ रानीमा रहेको मिल्स माविको स्कूलमा बस्दै आएका छन् । बाढी छाप्रोमा पसेर भएको अन्न पनि निकाल्न नपाएको भुटनीदेवीले बताइन् । ‘केसेलिया खोलाको बाढी बस्ती छिरेपछि हामीलाई विस्थापित बनायो,’ उनले दुःखेसो पोख्दै भनिन्, ‘खाने अन्न छैन, पकाउने भाँडाकुँडा छैन, ओढ्ने लुगा छैन, कसरी जिउने हामी गरिब मान्छे ? ।
आइतबार विहानदेखि चिउरा र भूजाको भरमा रात काटेको उनले सुनाइन् । ‘आफ्नो घरमा भएको सबै अन्नपात बाढीले बगायो,’ उनले भनिन्, ‘अहिले यहाँ सुक्का मुराइ र चिउँरामा रात कटाउनु परेको छ ।’ समस्यामा परेकोेले सरकारले राहत दिनुपर्ने उनले बताइन् । ‘हामीले त जेनतेन गरि चिउँरा भूजा खाएर भएपनि रात कटाउन सक्छौंं,’ उनले कचेउँरामा रहेकोे मुराइ देखाउँदै भनिन्, ‘यि साना केटाकेटीले कसरी योे मुराइले पेट भोरछन् ? । साना केटाकेटीलाई अडिलो र पोसिलो खानेकुरा चाहिन्छ ।’
विराटनगर १२ बखरी स्कूलमा रहेका ३० घरका १ सय ५० जना बाढीपीडितको समस्या पनि उस्तै छ । यहाँ रहेका बाढीपीडित विराटनगर १२ बखरी सिमराहीका हुन् । आइतबार विराटनगर महानगरपालिका र वडा कार्यालयले दिएको मुराइ र चिउराले रात काटेको बाढीपीडित फुदन मलिकले बताए । ‘घरमा बाढीपसेपछि जानसक्ने अवस्था छैन ।
बखरी स्कूलमा आएर बसेको एक दिन भयो । पहिलो दिन चिउरा र भूजा खाएर राट काटयौं,’उनले भने, ‘अहिले के खाने टुंगो छैन ।’ भारतसँग सिमा जोडिएको विराटनगरको दरैयाँ आसपासको क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदाय बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । साँघुरो जमिनमा बनाएको छाप्रो घर, बनिबुत्तो गरेर जोहो गरेको खाद्यान्न, अन्नपानी, चामल, नुल, तेल, तरकारी, लुगाकपडासहित जीविकोपार्जनका निम्ति पालेका गाई–भैंसी, खसी–बाख्रा, कुखुरा र खेतीपाती समेत बगाएपछि विचल्लीमा परेका छन् । महानगरका अधिकांश बाढीपीडित परिवार चिसो भूईंमा सुत्न बाध्य छन् । भूईंमा सुत्न बृद्धबृद्धा, बालबालिका र सुत्केरीलाई निकै कठिनाई भएको बाढीपीडित परिवारले बताए ।
बर्सेनी केशलिया खोलाबाट मनोमानी रूपमा अवैध उत्खनन् गर्दा त्यसको प्रत्यक्ष असर बर्खायाममा विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका बस्तीले सास्ती खेप्नु परेको छ । वर्षा शुरु भएसँगै केशलिया खोलाले धार परिवर्तन गरी बस्तीमा बाढी पस्दा विराटनगर महानगरपालिकाको सयौं घर डुबानमा परि विस्थापित हुने गरेका छन् ।
शनिबार रातीदेखि परेको वर्षाको कारण केसेलिया खोला विराटनगर – ६ ब्रमापुराबाट पस्दा विराटनगर १२ को बखरी, सिमराही र विराटनगर १६ को दरैया बस्तीका गरि ९५ घर डुवानमा परि ४ सय ५० जना विस्थापित भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रशासन र स्थानीय सरकारले केसेलिया खोलामा अवैध रूपमा हुने उत्खनन रोक्न नसक्दा र मजबुत रूपमा तटबन्धन गर्न नसक्दा बर्खायाममा मानविय र जनधनको क्षति हुने गरेको यहाँका स्थानीयको भनाइ छ ।