विराटनगर, २९ असार । विराटनगर एयरपोर्टलाई अन्तराष्ट्रिय स्तरको बनाउने काममा अन्यौल भइरहेको बेला त्यसलाई छिटो टुंगो लगाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दबाब दिनुभएको छ ।
विराटनगर विमानस्थलमा सोमबार मुख्यमन्त्री राईले प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौलासँग जानकारी लिनुभयो । सिटौलाले ३ हजार मिटरको रनवे बनाउने विषयको फाइल मन्त्रालयमा थन्किएर बसेको जानकारी गराएपछि मुख्यमन्त्री राईले सोझै मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई फोन गरेर प्रक्रिया छिटो अगाडि बढाउन दबाब दिनुभएको हो । ‘विराटनगर एयरपोर्टलाई स्तरोन्नति गर्नका लागि तयार पारिएको गुरुयोजना मन्त्रालयमा थन्किएर बसेको थाहा पाएको छु, के हो जानकारी पाउँ,’ टेलिफोनमा जवाफ माग्दै मुख्यमन्त्री राईले सहसचिव लामिछानेलाई भन्नुभयो, ‘प्रक्रिया छिटो टुंग्याएर मलाई जानकारी गराउनु होला ।’
मुख्यमन्त्री राईले प्रधानमन्त्री केपी शर्मा ओली तथा पर्यटनमन्त्री योगेश भट्टराईले गुरुयोजनाको फाइल आफूकहाँ नआएको भन्दै आफूलाई पटक पटक जानकारी लिएको भन्दै बीचमा अलमल गर्न किन खोजेको हो भन्ने विषयमा आफू खोजी गर्ने पनि बताउनु भयो । ‘मलाई प्रधानमन्त्रीज्यूले एयरपोर्ट बढाउने विषय के भयो भनेर सोध्नु हुन्छ, पटकपटक मन्त्रीसँग पनि कुरा भएको छ, कहाँ पुगेर कसले फाइल किन रोकेको हो मैले बुझ्न सकेको छैन,’ राईले भन्नुभयो, ‘अब आउने आर्थिक वर्षमा निर्माण अगाडि बढाउने गरी काम होस् ।’
विराटनगर विमानस्थललाई २५ सय मिटरको रनवेमा विकास गर्ने भन्दै संघीय सरकारले चालू आर्थिक वर्षमा १ करोड प्रशासनिक खर्चका लागि बजेट विनियोजन गरेको थियो । तर, नीतिगत कुनै निर्णय नभएको भन्दै उक्त रकम फिर्ता गएको विराटनगर नागरिक उड्डयन प्राधिकरणका प्रमुख सिटौलाले जानकारी दिनुभाये ।
‘यस वर्ष पनि प्रशासनिक खर्च १ करोड मन्त्रालयले छुट्याउने कुरा भएको छ, गत वर्ष छुट्याएको रकम नीतिगत निर्णय नहुँदा खर्च हुन सकेन,’ सिटौलाले भन्नुभयो, ‘३ हजार मिटरको रनवे बनाउने या २५ सय मिटरको बनाउने भन्ने विषय ठोस नहुँदा मुआब्जा प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन ।’
मन्त्रलयको सिभिल इन्जिनियरिङ डिपार्टमेन्टले भने ३ हजार मिटरको रनवे बनाउँदा उपर्युक्त हुने राय सहितको गुरुयोजना ४ महिना अगाडि नै मन्त्रालय पठाएको सिटौलाको भनाइ छ । २५ सय मिटरको गुरुयोजना भने गत वर्ष असारमै सम्पन्न भएको थियो । प्रदेश सरकार, विराटनगर महानगरपालिकाको दबाबपछि पछिल्लो पटक त्यसलाई रिभ्यु गरी ३ हजार मिटरको रनवे बनाउने गुरुयोजना बनेको हो । तर, उक्त गुरुयोजना स्वीकृत गर्ने मन्त्रालय फाइल थन्क्याएर बसेको छ ।
विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहणका लागि मात्र ३ अर्ब भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । एक हजार पाँच सय मिटरमा रहेको विमानस्थलको लम्बाई एक हजार मिटर बढाउने गरी डीपीआर तयार भएको थियो । थप विस्तारका लागि एक सय ५० विगाहा जग्गा अधिग्रहण गर्नुपर्ने बताइएको छ ।
गत मंसिर १७ गते विराटनगर विमानस्थल विस्तारका विषयमा पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा विराटनगरमा छलफल भएको थियो । छलफलपछि मन्त्री भट्टराईले विमानस्थलको धावनमार्ग २५ सय मिटर बनाउने गरी काम अघि बढाउने गरी गुरुयोजना तयार पर्ने सहमति भएको बताउनु भएको थियो । त्यही पनि अझै प्रक्रिया अगाडि बढेको छैन ।