बाढीका कारण ५ हजार बढी घर जोखिममा, ७० प्रतिशत घर डुबानमा (फोटो फिचर)

विराटनगर । केही दिनयता जारी अविरल बर्षाका कारण विराटनगरको विभिन्न भाग डुबानमा परेको छ ।

विराटनगर भएर बग्ने केशलिया, फुप्री र सिंघीया खोलाको जलस्तर बढेसँगै आसपासका विभिन्न भागहरु डुबानमा परेको हो । केही दिनयता निरन्तर जारी बर्षाका कारण यस बर्ष पनि विराटनगर–६ नजिकैको ब्रहमपुरा, वडा नं. ८ को सुकुम्बासी बस्ती, वडा नं. १२ को बखरी र वडा नं. १६ को दरैया बस्ती लगायतका क्षेत्रहरु डुबानमा परेका छन । हालसम्म निकै जनधनको क्षति नभएपनि नदी आसपासका ५ हजार बढी घर डुबानको उच्च जोखिममा रहेका छन भने ७० प्रतिशत घर डुबानमा परिसकेका छन । निर्वाचित जनप्रतिनिधिहरुले बाढीको उच्च जोखिममा रहेका घरपरिवारको व्यवस्थापनमा खासै रुचि नदेखाउँदा यस बर्ष पनि दरैया बस्तीको मात्रै ९५ बढी घर डुबानमा परेको स्थानीय प्रदिप मण्डलले बताउनुभयो ।

विराटनगर महानगरपालिका पुर्वमा सिंघीया र पश्चिममा केशलिया खोलाको बिचमा अवस्थित रहेको छ । यी २ नदीहरुमा तटबन्ध निमार्ण गरिदिए बाढीको समस्या निकै हदसम्म न्युनीकरण गर्न सकिने विराटनगर–१२ बखरीका अनिल कुमार कामतको भनाई छ । हाल विराटनगर–१२ बखरीका बाढी प्रभावित ३० घरपरिवारहरुलाई नजिकैको बखरी आधारभुत विद्यालयमा बसोबासको व्यवस्था मिलाईएको छ । यद्यपि नदीहरुमा तटबन्ध निमार्ण नहुन्जेल प्रत्येक बर्ष बाढीको समस्या यथावत रहने विराटनगर–१२ का वडाध्यक्ष हिरालाल कामतको तर्क छ ।

वल्ड भिजन ईन्टरनेशनलको सहयोगमा महानगरपालिकाले जारी गरेको तथ्याङक अनुुसार विराटनगरको खोला किनारमा बसोबास गर्ने कुल ५ हजार ७ सय ७५ घरपरिवार बाढीको उच्च जोखिममा रहेका छन । उनीहरुको व्यवस्थापनका लागी विराटनगर महानगरपालिकाले जोखिममा रहेका घर तथा बस्तीहरुलाई स्थानान्तरण गर्ने र जनता आवास योजनाहरु अन्तर्गत उनीहरुलाई जोखिममुक्त ठाउँमा बसोबासको व्यवस्था मिलाउने लगायतका योजनाबद्ध कार्यक्रमहरु अघि सारेको महानगरका प्रवक्ता राजेन्द्र प्रधानले जानकारी दिनुभयो ।

विराटनगर महानगरापालिकाले बाढीको प्रकोपबाट आम नगरबासीलाई सुरक्षित राख्न स्थानीय विपद तथा जलवायु उत्थान योजना अघि सारेको छ । यद्यपि यसको दीर्घकालीन एवं समुचित समाधानका लागी नदीहरुमा तटबन्ध निमार्ण हुनु अत्यन्तै आवश्यक देखिएको छ ।

आइतबार, २८ असार, २०७७, साँझको ०५:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर