विराटनगर । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं शंखमुलका ६० वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । फोक्सो र मिर्गौलाका बिरामी उनलाई असार १६ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकोमा असार १७ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो।
यस्तै सिन्धुपाल्चोक पाँचपोखरी वडा नम्बर ६ का ४५ वर्षीय पुरूषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका ती पुरूषमा असार २२ गते कोरोना पोजेटिभ देखिएको थियो। उनको असार २५ गते मृत्यु भएको हो ।
यस्तै काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ घर भएका ५४ वर्षीय एक पुरूषको पनि असार २५ गते मृत्यु भएको छ। उनको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मिर्गौला रोगबाट पीडित थिए।
उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको थियो। योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ।


