विराटनगर । प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ सामाजिका विकास मन्त्रालयका अनुसार मोरङका १७, झापाका २, उदयपुरका ६ तथा इलाम र सुनसरीका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिबालयका अनुसार योसँगै प्रदेशमा संक्रमितको संख्या ५६० पुगेको छ । मोरङको सुनवर्षीका १६ पुरुष र एक महिलामा आइतबार कोरोना पुष्टि भएको हो ।
यसैगरी झापाको हल्दिवारीका २ महिला, सुनसरीको इनरुवाका एक पुरुष, इलामको माइका एक पुरुष तथा उदयपुरको कटारीका ३ महिला, २ पुरुष र त्रियुगाका १ पुरुषमा कोरोना पुष्टि भएको छ । आइतबार सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा भर्ना भएका झापाको कचनकबलका एक पुरुष निको भई डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा हालसम्म कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ३७८ पुगेको छ । मन्त्रालयका अनुसार आइतबारसम्म प्रदेशभरी २२ हजार १८० जनाको कोरोना परीक्षण पिसिआर बिधिबाट भएको छ । आइतबार ६५८ जनाको परीक्षण भएको छ ।